बागलुङ नगरले प्रस्तुत गर्यो नीति तथा कार्यक्रम

61

बागलुङ, ११ असार ।
बागलुङ नगरपालिकाले सोमबार आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगरपालिकाको तेस्रो नगरसभाबाट नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिकाका प्रथम मेयर स्वर्गिय ऋषिराम शर्माको समझनामा गरिवसँग ऋषिराम कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले नगरपालिका भित्रका सुकुम्वासी, अति विपन्न परिवारलाई सेवा र उत्पादनसँग जोड्ने विषय कार्याक्रम संचालन गर्ने जानकारी दिदै गरिवसँग् ऋषिराम कार्यक्रम संचालन गर्न लागेको मेयर पौडेलले जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाको नीति तथा कार्यक्रममा प्रेशसँगको सहकार्यमा औधोगिकग्राम स्थापना गर्न प्रबन्ध मिलाउने, नगरको प्रवेशद्वारलाई डबल लेनको बाटो बनाउने, मालढुंगादेखि उपल्लाचौर, मालिका रत्नेचौरहुँदै म्याग्दी बेनी जानेबाटोलाई फराकिलो बनाइने, कालीगण्डकी करिडोरलाई मालढुंगा–बागलुङ हुँदै बेनी जोड्न विशेष पहल गर्ने उल्लेख गरिएको छ ।
नगरपालिकाले सिटीहल निर्माण कार्य यसै वर्षदेखि प्रारम्भ गर्ने, आधुनिक वसपार्क २ वर्षभित्र सम्पन्न गर्ने, कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका क्षेत्रमा सम्भाव्यता अध्ययन गरी सुख्खा बन्दरगाह निर्माण गर्ने, एक वडा एक पार्कको कामलाई अगाडी बढाइने, भकुण्डे, तित्याङ–बुकेनी र सिगानाको बौडेचौरमा होमस्टे संचालन गर्ने, पर्यटन प्रवद्र्धनको लागि बलेवा–भकुण्डे–पञ्चकोट–तातोपानी पदमार्गको सर्वेक्षण गर्ने, नगरपालिकामा विश्वविद्यालयहरुको सहकार्यमा प्राविधिक कलेज संचालन गर्ने र बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पर्ने हुनाले विद्यालय क्षेत्रभित्र जंकफुड निषेध गरिनेछ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगरपालिकाले कृषिलाई विशेष पेशाको रुपा लिँदे एक वडा तीन उत्पादन नीति अबलम्न गर्ने जनाएको छ । कृषि तर्फ प्रदेशको कार्यक्रम अन्तरगत एक सहकारी, एक उत्पादनलाई नगरपालिकाले पनि लागु गर्ने, संघ र प्रदेशको समन्वयमा भूमि बैंकको स्थापना गरी किसानलाई सहुलियत दरमा उपलब्ध गराउने जनाएको छ ।
अहिले बागलुङ नगरपालिकामा खानेपानीको हाहाकारलाई मध्यनजर गर्दै बजार क्षेत्रको खानेपानी समस्यालाई समाधान गर्न लिफ्टिङ प्रणालीमा आधारित केन्द्रीय योजनालाई २ वर्षभित्र सम्पन्न गरी, स्वच्छ खानेपानीको प्रबन्ध मिलाइने र अमलाचौर म¥याङघाट, भैरवस्थान, पैयुँपाटा, रायडाँडा, भकुण्डे, तित्याङ, सिगाना, मालिका र नगरपालिकाका वडा नं. ३, ४, ६, ७ र १४ मा खानेपानी व्यवस्थित गर्न नयाँ निर्माण, लिफ्टीङ्ग र ड्रिलिङ्ग योजना अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाले खेलकुद तर्फ मेयर कप फुटबल प्रतियोगितालाई निरन्तरता दिने र बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला निर्माणको कार्य अगाडी बढाईने बताएको छ ।
नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बलेवा बिमानस्थानको बारेमा भने कुनै कुरा उल्लेख गरिएको छैन । यात्रु अपुगभए नगरपालिकाले भाडा व्यहोर्ने निर्णय गरेर विमानस्थान संचालन ल्याएपनि नीति तथा कार्यक्रममा केही उल्लेख नगर्दा सवै अच्चममा परेका छन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरागर्दै नगरप्रमुख जनकराज पौडेलले विमानस्थान संचालन भइरहेकाले केही उल्लेख नगरिएको बताउँदै बजेटमा ल्याइने बताए । उनले विमानस्थान नगरपालिकाको एक महत्वपूर्ण काम भएकाले बन्दहुन नदिने बताए ।
नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन कार्यकारी प्रशासकीय अधिकृत भिमबहादुर कुँवरले गरेका थिए ।