जिल्लाका खेलकुदमा मन्त्रालयको झ्यालबाट बजेट आउँछः परियार

41

बागलुङ, ३ असार
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले जिल्लामा खेलकुदको लागि मन्त्रालयको झ्यालबाट बजेट आउने गरेको बताउनुभएको छ ।
जिल्ला खेलकुद विकास समितिमा कार्यभार समालेको ४ वर्ष पुग्नै लाग्दा समितिले गरेका कार्ययोजनाहरुको जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा परियारले खेलकुदको लागि कास्कीको लुम्लेबाट यता बजेट आउन धेरै गाह्रो हुने गरेको बताउँदै सधैजसो केही मात्रमा झ्यालबाट आउने गरेको बताउनुभयो ।
खेलकुद मन्त्रालयले सिधै पठाईदिएमा धेरै बजेट आउने थियो अध्यक्ष परियारले भन्नुभयो मन्त्रालयबाट जिल्लाको खेलकुदको लागि धेरै बजेट नआउने र थोरै पनि बल्ल बल्ल आउने गरेको बताउनुभयो । उहाँले खेलकुद भनेको कस्कीको लुम्लेदेखि यता नभएको जस्तो गरेर सधै राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयले बजेट विनियोजित नगरिदिएको गुनासो गर्नुभयो ।
जिल्ला खेलकुद बिकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियार ले २०७२ सालदेखि अहिलेसम्म समितिले खेलकुदको गतिविधि बारे साधन स्रोत नभए पनि गर्दै आएको बताउनुभयो । राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता गर्नको लागि केन्द्र बाट आउने बजेट अपुग भएका कारण अहिलेसम्म घाटामा गइरहेको अध्यक्ष परियारले बताउँनुभयो ।
जिल्लामा खेलकुदका प्रशिक्षक भए पनि साधन र स्रोत कम भएको चाहिने सामाग्री नभएको कारणले पनि खेल सिकाउन समस्या भएको पत्रकार सम्मेलनमा अध्यक्ष परियारले बताउँनुभयो । जिल्लामा खेलकुदको लागि केन्द्र बाट भने अनुसारको बजेट नआउने चाहिने ठाउँ भन्दापनि नचाहिने ठाउँमा बजेट आउने गरेको गुनासो समेत अध्यक्ष परियारले गर्नुभएको थियो ।
योजना बद्द रूपमा काम गर्नको लागि बजेट पनि त्यहीँ अनुपातमा आउनसके मात्रै जिल्लामा खेलकुदको लागि बिकास गर्न सहज हुने उहाँको भनाई थियो । उहाँले आफ्नो कार्यकालमा भलिबलका दुई ओटा बजेट फ्रिज भएको जानकारी दिनुभयो । अध्यक्ष परियारले २०७२/०७३ मा बागलुङलाई भन्दै आएको भलिबलको कोर्ट निर्माणको पाँच लाख बजेटमा गल्कोटको मल्मको तल्लो र उपल्लो स्थानले विवाद सिर्जना गरेपछि उक्त वडालाई विवाद समाधान गर्न आग्रह गर्दासमेत सामाय नभएकाले बजेट फ्रिज हुन पुगेको बताउनुभयो ।
खेलकुद विकास मन्त्रालयका उपसचिव जनार्धन शर्माले जिल्लालाई खेलकुदको क्षेत्रबाट पहिचान दिलाउँनको लागि कुनै एक खेललाई रोजेर अगाडी बढनुपर्ने बताउँनुभएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं उहाँले यस्तो बताउँनुभएको हो ।
‘एउटा खेल रोज्ने भन्नाले अन्य खेलहरुलाई त्याग्ने भन्ने होईन शर्माले भन्नुभयो धेरै खेलहरुमा अल्झदा जिल्लाको पहिचान बोकेका खेलहरु लोप हुन सक्छन् त्यसैले जिल्लाको पहिचान बोकेका खेलहरुको विकासको लागि सबै लाग्नुपर्छ । उहाँले यो वर्षदेखि खेलकुद क्षेत्रको बजेट स्थानिय तहमा शिर्षक छुटिएरै आउँने भन्दैं जिल्लामा रहेका खेलकुद विकास समितिको अस्तित्व अन्योलमा रहेको बताउँनुभएको थियो ।
पत्रकार सम्मेलनको अध्यक्षता जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियार संचालन सदस्य सचिव भिमसेन शाक्यले गर्नुभएको थियो ।