
बागलुङ, २६ माघ
आउँदो फागुन ४ र ७ गते बागलुङमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) कप महिला तथा पुरुष जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
फागुन २५ देखि २७ सम्म पोखरामा प्रादेशीकस्तरीय प्रतियोगिता हुने भएकाले माघ ३० देखि फागुनमा १२ सम्म जिल्लाबाट खेलाडी छनोट भईसक्नुपर्ने प्रावधान रहेकाले बागलुङमा प्रतियोगिता संचालन गर्न लागिएको जिल्ला भलिबल संघ बागलुङका सचिव सन्दिप पन्तले जानकारी दिनुभयो ।
प्रतियोगितामा बागलुङका ४ नगर र ६ गाउँपालिका गरी १० स्थानिय तह विच प्रतिस्पर्धा गराई खेलाडी छनोट गरिने सचिव पन्तले जानकारी दिनुभयो ।
प्रतियोगिता संचालनको लागि अहिले सवै स्थानिय तहमा खेलाडी छनोट गरि प्रतियोगितामा भाग लिनको लागि अनुरोध गरिएको जिल्ला भलिबल संघले जनाएको छ । स्थानिय तहबाट छनोट भएर आएका १० स्थानिय तहको टिमहरु विच प्रतियोगिता संचालन गरिने र उत्कृष्ट खेलाडीहरुलाई फागुन २५–२७ सम्म पोखरामा हुने प्रादेशीकस्तरीय भलिबल प्रतियोगितामा जिल्लाबाट सहभागिताको लागि पठाइने सचिव पन्तले जानकारी दिनुभयो ।
प्रदेशस्तरीय छनोट भने फागुन १२ गतेदेखि चैत ७ गतेसम्म गरिसक्नुपर्ने छ । सातै प्रदेशमा छनोट प्रतियोगितापछि काठमाडौंमा आगामी चैत २० गतेदेखि २८ गतेसम्म राष्ट्रिय प्रतियोगिता हुने छ । जिल्ला खेलकुद विकास समिति, जिल्ला भलिबल संघ, क्षेत्रीय भलिबल संघ तथा क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गर्ने छन् ।
चैत २० देखि २८ गते काठमाडौंमा हुने प्रथम एफएनसिसीआई महिला तथा पुरुष विजेता भलिबल टिमलाई नगद २ लाख रुपैयाँ प्रदान गरिने छ । उपविजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख रुपैयाँ र तेस्रो हुने दुवै टोलीलाई नगद ५० हजार प्रदान गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार प्रदान गरिने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए । विधागत खेलाडीहरुलाई नगद ५÷५ हजार रुपैयाँ नगदबाट सम्मान गरिने छ । नेपाल भलिबलको इतिहासमा उद्योग वाणिज्य महासंघसँग भएको सम्झौता नै सबैभन्दा ठूलो हो ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारको लागि नेपाल भलिबल संघ र उद्योग वाणिज्य महासंघ बीच एक करोड २० लाख बराबरको सहयोग गर्ने सम्झौता भएको छ । भिलेज टु ग्लोबल भन्ने नारासहित आयोजित प्रतियोगितामा विभागीय टोलीको खेलाडीले सहभागिता जनाउन पाउने छैनन् । साथै वडास्तरबाट नै खेलाडी छनोट गरिने भएकोले निश्चित रुपमा यस प्रतियोगिताबाट प्रतिभाशाली खेलाडी छनोट हुने विश्वास गरिएको छ ।










