शेयर सदस्यलाई सहकारी ऐनबारे जानकारी

40

नवीन शिशिर
बागलुङ, १६ माघ
गुहेली संचार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–२ भीमापोखराले सहकारीका संचालक तथा सेयर सदस्यलाई सहकारी ऐन–२०७४ बारे प्रशिक्षण दिएको छ ।
सहकारीले वडाभित्र रहेका सहकारी संस्थाका संचालक तथा सेयर सदस्यहरुको लागि सहकारी शिक्षा कार्यक्रम अन्तर्गत रहेर नयाँ ऐनबारे प्रशिक्षण दिएको हो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैक संचालक समिति सदस्य रामबहादुर जिसीले नयाँ ऐनले एकीकृत र बलियो सहकारीको परिकल्पना गरेको बताउँदै एकीकृत पूँजी निर्माण गरी उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोडदिनुभयो । जिसीले वडा भित्र रहेका अन्य विषयगत सहकारी एकीकृत गरी वृहत र मजबुद सहकारी निर्माण गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले हरेक सहकारीले आफ्नो विषय अनुसारको काम गर्नुपर्ने बताउनुभयो । नयाँ ऐन अनुसार कुनै पनि विषयगत सहकारीले क्षेत्र अनुसारका उत्पादनमा लगानी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै ऋण र बचतको सिमाबाट बाहिर जानुपर्ने अनिवार्य व्यवस्थाबारे सचेत गराउनुभएको थियो ।
कार्यक्रम गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, जननिगरानी साप्ताहिक पत्रिकाका सम्पादक नवीन शिशिरको स्वागत र सचिव सूर्य थापाको संचालनमा सम्पन्न भएको थियो । सहकारीले खबर बे अनलाईन र जननिगरानी साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको छ ।