प्रथम मेयर कप फुटबल आजदेखि, आयोजक र पालुङटार भिड्दै

55

बागलुङ, १६ माघ
धौलागिरी अञ्चलकै सर्वोधिक पुरस्कार राशिको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
बागलुङ नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला फुटबल संघ बागलुङको व्यवस्थापन रहेको नकआउट चरणको उक्त प्रतियोगितामा प्रदेश नम्बर ४ का ११ नगरपालिकाको सहभागिता रहेको छ ।
नगरपालिकाले शहिद दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी सोमबार नै सकिएको जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछाने क्षेत्रीले जानकारी दिनुभयो ।
आज (मंगलबार) धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणबाट जिल्लाको पहिचान झल्कने झाँकी, बाजागाजा सहित सहिद पार्कमा सहिदहरुलाई सलामी अर्पण गरिसकेपछि प्रतियोगिताको उद्घाटन गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभयो ।
उद्घाटन खेलमा आज आयोजक बागलुङ नगरपालिका र पालुङटार नगरपालिका गोरखाको विचमा दिउँसो १ बजे खेल हुनेछ । पालुङटार नगरपालिका सोमबार बेलुका नै बागलुङमा आईपुगेको छ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख २२ हजार २ सय २२ र १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकले सम्मान ५–५ हजार प्राप्त गर्ने आयोजकले जानएको छ । यस्तै प्रतियोगिताको समेमिफाइनल पुग्ने टिमका खेलाडीहरुलाई प्रतिदिनको भत्ताको व्यवस्था गरिने आयोजकले जनाएको छ ।