
अर्जुन कार्की
बागलुङ, १४ माघ ।
सहिद दिवसको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ ।
नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफि तथा प्रतियोगिताको खेलतालिका प्रकाशित गरेको छ । ट्रफि र नगरपालिकाको जर्सि नगरप्रमुख जनकराज पौडेलले सार्वजनिक गर्नुभएको थियो ।
प्रदेश नम्बर ४ का ११ ओटा नगरपालिकाले सहभागिता जनाउने उक्त प्रतियोगिताको उद्घाटन खेल बागलुङ नगरपालिका र पालुङटार नगरपालिका विच हुने आयोजकले जानकारी दिएको छ ।
माघ १६ गतेदेखि २१ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा प्रदेश नम्बर ४ का वालिङ नगरपालिका स्याङजा, व्यास नगरपालिका तनहुँ, पोखरा लेखनाथ महानगरपालिका कास्की, बेनी नगरपालिका म्याग्दी, कुश्मा नगरपालिका पर्वत, गोरखा नगरपालिका गोरखा, पालुङटार नगरपालिका गोरखा, देपचुली नगरपालिका नवलपुर, गैडाकोट नगरपालिका नवलपुर, गल्कोट नगरपालिका बागलुङ र बागलुङ नगरपालिका बागलुङले सहभागिता जनाउने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख पौडेलले प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पार्नको लागि सम्पूर्ण बागलुङबासीहरुलाई अनुरोध गर्नुभयो । उहाँले जिल्लाको खेलकुद क्षेत्र र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नको लागि उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
नगरप्रमुख पौडेलले माघ १६ गते सहिद दिवसको दिन बाजागाजा र झाँकी सहित बजार परिक्रममा गरी सहिद दिवस मनाउने र प्रतियोगिताको उद्घाटन गरिने भएकाले सम्पूर्ण नगरबासीहरुलाई ¥यालीमा सहभागिता जनाउनको अनुरोध गर्नुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराउनुभएको थियो । उहाँले प्रतियोगिताको लागि खेलमैदान मर्मत, दर्शकको लागि प्याराफिट निर्माण लगायतका सम्पूर्ण काम पुरा भएको जानकारी दिनुभएको हो । पत्रकार सम्मेलनको संचालन नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले गर्नुभएको थियो ।
प्रतियोगिता संचालनको लागि आयोजकले जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटलब संघ बागलुङलाई व्यवस्थापकीय कामको जिम्मेवारी सम्झौता गरेको थियो ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख २२ हजार २ सय २२ र १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकले सम्मान ५–५ हजार प्राप्त गर्ने आयोजकले जानएको छ । यस्तै प्रतियोगिताको समेमिफाइनल पुग्ने टिमका खेलाडीहरुलाई प्रतिदिनको भत्ताको व्यवस्था गरिने आयोजकले जनाएको छ ।









