राष्ट्रिय उसुमा बागलुङका ३ खेलाडीलाई रजत र एकलाई काश्य पदक

130

बागलुङ, ८ माघ ।
इटहरीमा सोमबार सम्पन्न भएको राखेप च्याम्पियनसिपअन्तर्गत १३ औं राष्ट्रिय उसु प्रतियोगिताको सान्सौं तर्फ पश्चिमाञ्चलको टिमबाट समावेश बागलुङका चार जना खेलाडीमा ३ जनाले रजत र १ जनाले काश्य पदक जितेका छन् ।
प्रतियोगितामा बागलुङका रेखा बोहरा, अनुप खड्का, योगेन्द्र थापाले रजत पदक प्राप्त गरेभने किरण घर्तिमगरले काश्य पदक प्राप्त गरेका छन् । यस्तै पश्चिमाञ्चलबाट सहभागिता जनाएका प्रवेश राना मगर र पुजा गुरुङले पनि काश्य पदक प्राप्त गरेका छन् ।
सोमबार भएको महिला तर्फको ४८ केजी तौल समुहको फाईनलमा नेपाली सेनाकी सर्मिला राईले पश्चिमाञ्चलकी रेखा बोहरालाई पराजित गर्दै स्वर्ण पदक जितिन् । फाईनलमा पराजित बनेपछि बोहराले रजत पदकमा चित्त बुझाएकी छिन् ।
यस्तै पुरुष तर्फ ७० केजीमा पश्चिमाञ्चलबाट प्रतिस्पर्धा गरेका बागलुङका योगेन्द्र थापाले पनि रजत पदक जितेका छन् । उनी फाईनलमा नेपाली सेनाका चित्र सिंह ठाकुरसँग पराजित भएका थिए । यस्तै ८० केजीमा पश्चिमाञ्चलबाट प्रतिस्पर्धा गरेका बागलुङका अनुप खड्काले पनि रजत पदक जितेका छन् । उनी एपिएफका निकेस श्रेष्ठसँग फाईनलमा पराजित भएका थिए ।
यस्तै ७५ केजीमा पश्चिमाञ्चलबाट सहभागि भएका बागलुङका किरण घर्ति मगरले काश्यपदकमा चित्त बुझाएका छन् । उनी सेमिफाईनलमा पूर्वाञ्चलका चन्द्र लिम्बुसँग पराजित भएका थिए । काश्य पदकको लागि सोमबार भएको प्रतिस्पर्धामा थापाले मध्यपश्चिमाञ्चलका भरत राणालाई पराजित गरेका थिए ।
यस्तै पश्चिमाञ्चलबाट सहभागिता जनाएका पुजा गुरुङ नेपाली सेनाकी लुमन्ति श्रेष्ठसँग र प्रवेश राना मगर नेपाल प्रहरीका अजय महर्जनसँग आईतबार सेमिफाईनलमा पराजित हुँदै काश्य पदकमा चित्त बुझाएका छन् ।