बलेवा बिमानस्थल संचालनका लागि बागलुङ नगरपालिकाको अगुवाई

266

बागलुङ, ४ माघ
बिगत २ दशक देखि बन्द बलेवा बिमानस्थल संचालनका लागि बागलुङ नगरपालिकाले पहल शुरु गरेको छ । बिमान स्थल संचालनको बित्तिय जिम्मेवारी सहित नगरपालिकाले बिमान स्थल संचालन गर्ने निर्णय गरेको हो ।
बागलुङ नगरपालिका, नेपाल एयरलाइन्स र निजी क्षेत्रको तारा एयरलाइन्स बिच बिमान संचालन गर्ने बिषयमा सहमती भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बिहिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
नगरपालिकाको पुस २१ गते सम्पन्न बैठकले बिमान स्थल पुनः संचालन गर्न बिमान सेवा कम्पनीलाई बित्तिय स्रोतको प्रत्याभुती समेत दिनु परेमा दिने गरि हवाइसेवा संचालन गर्न अनुरोध गर्ने निर्णय समेत गरेको पौडेलले जानकारी दिनुभयो ।
मेयर पौडेलले नेपाल वायुसेवा निगमसँग नगरपालिकाले विमान संचालनको लागि अनुरोध गरेको र निगमले मापदण्ड पु¥याएसी संचालन गर्न सक्ने बताएकाले मापदण्ड पु¥याउन नगरपालिका सहमत भएको जानकारी दिनुभयो ।
‘विमान चलाउने जोखिम ल्याउन सकेको भए २ वर्ष अगाडीबाट नै बागलुङमा विमान आईसक्थ्यो’ मेयर पौडेलले भन्नुभयो ‘पहिले जोखिम ल्याउन नसक्ने अहिले नगरपालिकाले गरेको कामलाई हामीले गरेको भनेर प्रचार गर्ने काम भएकोमा हामी दुखित छौं ।’ धेरै मिडियाले विमान आउने बारे समाचार प्रकाशित तथा प्रसारण गरे तर हामीलाई सो बारेमा सोध्ने काम भएन र व्यक्ति विशेषलाई चर्चित गराउने काम भयो मेयर पौडेलले भन्नुभयो । पौडेलले नगरपालिकाको कामलाई नै नगरपालिकाले गरेको होइन जसरी छाँयामा पार्ने काम गरेको भन्दै पौडेलले आक्रोस पोख्नुभयो । ‘नगरपालिकाको अगुवाईमा भएको कामलाई नै नगरपालिकालाई ओझेलमा पारेर केहीले जस लिने काम गर्नुभएको छ’ मेयर पौडेलले भन्नुभयो ‘उहाँहरुले पहल गर्नुभएको हुन्थ्यो भने २ वर्ष अगाडी नै बागलुङमा विमान आईसक्थ्यो ।’
बागलुङ नगरपालिकाले पुस २१ गते नगरकार्यपालिकाको बैठकमा विमानस्थल संचालनमा ल्याउने भन्ने निर्णय गरेको र निगमलाई पत्रचार गर्ने निर्णय गरेकाले हामीले निगमलाई अनुरोध गरेका थियौं त्यसै बमोजिम निगमले केही शर्त पालना गरेमा विमान संचालनमा ल्याउने जनाएको मेयर पौडेलले जानकारी दिनुभयो । उहाँले विमान संचालनको लागि केही दिनमा नै विमानस्थलको अनुगमनको लागि आयोगबाट प्राविधिकहरुको टोली आउन लागेको समेत जानकारी दिनुभयो ।
विमान संचालनको लागि अहिले विमानस्थल वरीपरिका रुखविरुवाहरु काट्नुपर्ने र विमानस्थलमा पूर्वाधारको विकास गर्नुपर्ने रहेको मेयर पौडेलले बताउनुभयो । विमानस्थलको पूर्वाधार विकास गर्नको लागि नेपाली सेनालाई आग्रह गर्ने र विमानस्थलको जमिनलाई समाउने र बागलुङदेखि विमानस्थल जानेसम्म सड्क मर्मत गर्नुपर्ने काम सेनालाई जिम्मा दिईने उपमेयर सुरेन्द्र खड्काले बताउनुभयो ।
नेपाल वायुसेवा निगमसँग नगरपालिकाले हप्तामा २ पटक विमान संचालन गर्ने र १५ जना भन्दा कम यात्रु भएमा उक्त भार नगरपालिकाले व्यहोर्ने गरेर सम्झौता गरेको मेयर पौडेलले जानकारी दिनुभयो ।