मेयर कप संचालनको लागि नगरपालिका र जिल्ला खेलकुद विकास विच सम्झौता

143

बागलुङ, ४ माघ
शहिद दिवसको अवसरमा बागलुङमा हुन लागेको सर्वाधिक धनराशिको प्रदेश नम्बर ४ स्तरिय प्रथम मेयर कप फुटबल संचालनको लागि बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समिति बागलुङ विच बिहीबार सम्झौता भएको छ ।
मेयर कपको सम्पूर्ण व्यवस्थापन गर्नको लागि नगरपालिकाले जिल्ला खेलकुद विकास समितिलाई १५ लाख २८ हजार ४ सय ३३ रुपैयाँ दिने भनेर सम्झौता भएको हो ।
मेयर कपको सम्पूर्ण व्यवस्थापकीय जिम्मेबारी जिल्ला खेलकुद विकास समितिले गर्नेगरी सम्झौता भएको खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले बताउनुभयो । सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले हस्ताक्षर गर्नुभएको छभने साझीहरुमा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङ, नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी र खरिदार ऋषिराम गोतामेले हस्ताक्षर गर्नुभएको छ ।

जिल्लाको नै गरिमाको रुपमा हेरिएको मेयरकप संचालनको लागि टिमहरुलाई आव्हान, प्रचारप्रसार, खेलमैदान व्यवस्थापन लगायतका कामको लागि जिल्ला खेलकुद विकास समितिले सम्पूर्ण काम गर्नुपर्ने छ । नगरपालिकाले आर्थिक सहयोग गर्ने र खेल संचालन सहयोग गर्नेछ ।
यस्तै बिहीबार नै भएको नगरपालिका, जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघ र सरोकारवालाहरुको बैठकले मेयर कपको लोगो चयन गरेका छन् । मेयर कप सफल पार्नको लागि तयारी सोरुप बसिएको बैठकमा नगरपालिकाका मेयर पौडेलले बागलुङ नगरपालिकालाई खेलकुद नगरीको रुपमा चिनाउन र पर्यटनको विकास गर्नको लागि फुटबलको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगिताको उद्घाटन समारोहमा जिल्लाको पहिचान झल्ने गरी सवै जातजातीका झाँकी, भेषभुषा, सवै खेलको प्रदर्शन गरिने भएकाले त्यसको तयारी भईरहेको समेत जानकारी दिनुभयो । उहाँले सहिद दिवसको दिन उद्घाटन गरिने भएकाले उक्त दिन मैदानको आडमा रहेको शहिद पार्कमा विशेष कार्यक्रम गरिने भएकाले प्रहरी प्रशासन, आर्मि तथा सरोकारवालाहरुले शहिदलाई सलामी तथा माल्यरपण गर्ने बताउनुभयो ।
बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले बागलुङका दुई स्थानमा प्रतियोगिता संचालन गरिने भएकाले अहिले मैदान मर्मत, खानेपानी, पार्कीङ, चेञ्जिङरुम, चर्पिहरुको व्यवस्थापनको काम भईरहेको जानकारी दिनुभयो ।

प्रदेश नम्बर ४ का नगरपालिका स्तरिय उक्त प्रतियोगितामा २० टिम हुनसक्ने आयोजकले जनाएको छ । प्रतियोगिता बागलुङ नगरपालिका–१को बाङ्गेचौर खेलमैदान र बागलुङ नगरपालिका–१० को भकुण्डे खेलमैदानमा संचालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख २२ हजार २ सय २२ र१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकले सम्मान ५–५ हजार प्राप्त गर्ने आयोजकले जानएको छ । यस्तै प्रतियोगिताको समेमिफाइनल पुग्ने टिमका खेलाडीहरुलाई प्रतिदिनको भत्ताको व्यवस्था गरिने आयोजकले जनाएको छ ।