बागलुङका नर्सहरु आन्दोलनमा आजदेखि ८ घण्टा काम छाड्दै, अस्पतालमा धर्ना

371
बागलुङ, ४ माघ
विभिन्न ११ बुँदे माग लिएर एक हप्तादेखी आन्दोलनरत बागलुङका नर्सहरुले आजदेखि ८ घण्टा काम छाड्ने भएका छन् ।
नेपाल नर्सिङ संघको अगुवाईमा काठमाडौंमा भएको आन्दोलनलाई सहयोग गर्दै उनीहरुले आज विहान १० बजेदेखि धौलागिरी अञ्चल अस्पताल बाहिर प्रर्दशन गरिरहेका छन् ।
‘हामीले केन्द्रको आन्दोलनलाई समर्थन गर्दै विरोध गरेका हौं’ धौलागिरी अञ्चल अस्पतालकी नर्सिङ अधिकृत सम्झना मण्डलले भन्नुभयो ‘माघ ३० गतेदेखि माघ ३ गतेसम्म १ घण्टा काम छाडेर विरोध गरेका थियौं आजदेखि देशभर ८ घण्टा काम छाड्ने घोषणा गर्दै त्यसलाई समर्थन गर्दै हामीले बेलुका चार बजेसम्म काम गर्दैनौं ।’
नर्सिङका माग सम्वोधन नगरेका कारण कडा आन्दोलनमा उत्रन वाध्य भएको उहाँले वताउनुभयो । अबका अन्दोलन झन् सशक्त पार्ने मण्डलले चेतावनी दिनुभयो । ‘सरकारले नर्सहरु नभएपनि काम हुन्छ भने जस्तो गरेको छ’ अधिकृत मण्डलले भन्नुभयो ‘हाम्रो माग पुरा नभए माघ ७ गतेदेखि २४ घण्टा नै काम छाड्छौं र कसरी काम हुँदो रहेछ हेर्छौ ।’
नर्सहरुले आजदेखि ८ घण्टा काम छाडेपनि इमर्जेन्सी र लेबर सेवा भने दिईरहेको अधिकृत मण्डलले बताउनुभयो । अञ्चल अस्पतालमा अहिले २५ जना नर्सहरुले काम गरिरहेका छन् ।
देशभर नर्सहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्रस्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू लगायत ११ वटा माग गरेका छन् ।