अमर आदर्श फुटबल कपको पहिलो दिन गोलको वर्षा

134

अर्जुन कार्की
बागलुङ, ३ माघ ।
अमर आदर्श आवासिय विद्यालय बागलुङको आयोजनामा बांगेचौर खेलमैदानमा आजदेखि सुरु भएको अन्तर (१०–२) पुरुष फुटबल प्रतियोगितामा दुई खेल सम्पन्न भएका छन् । पहिलो दिन भएको दुई खेलमा १४ गोल भएको छ ।
उद्घाटन खेलमा आयोजक अमर आदर्शले कालिगण्डकी माविलाई ७–० गोलअन्तरले पराजित गरेको छ ।
अमर आदर्शलाई पहिलो खेलमै जित दिलाने क्रममा रोहन खड्काले ह्याट्रिक सहित ५ गोल गरे । उनले खेलको पहिलो हाफको २१, ४१ र ४३ मिनेट गोलगर्दै ह्याट्रिक पुरा गरेका थिए । यस्तै खड्काले खेलको ४८ र ५२ मिनेटमा गोल गरेका थिए । आयोजकको जितको लागि खेलको ४६ मिनेटमा सुनिल श्रीस र ५१ मिनेटमा अरुन श्रीसले गोल गरेका थिए ।
यस्तै बुधबार नै भएको दोस्रो खेलमा अमृत आदर्श माविले गरिमा माविलाई ७–० गोल अन्तरले पराजित गरेको छ ।
अमृतको जितको लागि विपिन महतले ५ गोल गरे । उनले खेलको ३, ६ र ३९ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिएभने ५८ र खेलको अतिरित्त समय ६३ मिनेटमा गोल गरेका थिए ।
अमृतको जितको लागि मौषम राईले ३५ मिनेट र अमृत छन्त्यालले ४४ मिनेटमा गोल गरेका थिए ।
१५ टिमको सहभागिता रहेको प्रतियोगिता अन्तरगत बिहीबार पहिलो खेल मुलपानी मावि विरुद्ध कुडुले मावि, दोस्रो खेल अमर आदर्श (रातो) विरुद्ध भैरव मावि, तेस्रो खेल, आदर्श विद्यामन्दिर विरुद्ध न्यू लाईफ बोर्डिङ स्कुल, चौथो खेल विद्यामन्दिर मावि विरुद्ध गल्कोट मावि र पाचौ खेल फ्युचर ब्राईटर मावि विरुद्ध भिमसेन मावि विच हुने अमर आदर्श आवासिय विद्यालयका सहायक प्रिन्सिपल कमल पन्तले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने टिमले नगद ५ हजार प्राप्त गर्ने आयोजकले जनाएके छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले खबरवे अनलाईनलाई जानकारी दियो ।