सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलब नगरपालिकाले व्यहोर्ने

27

बागलुङ, ३ माघ
ढोरपाटन नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकहरुलाई आगामी आर्थिक बर्ष देखि नगरपालिकाले तलब भत्ताको ब्यवस्था गर्ने भएको छ । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी अभावका कारण पठनपाठनमा समस्या भएको भन्दै त्यसको ब्यवस्थापनका लागी नगरपालिका प्रमुख र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु तथा सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।
सामुदायिक विद्यालयमा सरकारी शिक्षकहरु कम रहेको र विद्यार्थीको शैक्षिक गुणस्तरवृद्धिको लागि नीजि स्रोतका शिक्षकहरु राखिएपनि उक्त शिक्षकहरुको तलबको व्यवस्थापनमा कठिनाई भएको भन्दै विद्यालयका प्रधानाध्यापकहरुले नगरपालिकालाई आव्हान गरेकाले आगामि आर्थिक वर्षदेखि व्यवस्थापन गर्ने निर्णय गरेको ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले जानकारी दिए ।
नगरपालिकामा अहिले ४३ ओटा सरकारी विद्यालय रहेको र ६० जनाजति नीजि स्रोतका शिक्षकहरु रहेको उत्तरगंगा मावि स्रोत केन्द्रका स्रोतव्यक्ति हरिचन पाण्डेले जानकारी दिए । उनले विद्यार्थीहरुको शैक्षिक गुणस्तरवृद्धिको लागि निजी स्रोतका शिक्षकहरु राखिएपनि तलबको लागि स्थानियस्तरमा रकम संकलन नहुने र तलब दिन गाह्रो हुने गरेकोले नगरपालिकालाई आव्हान गरेको बताए ।
बैठकले निजी स्रोतका शिक्षकहरुलाई तलब व्यवस्थापन र विद्यालयहरुको अवस्थाको बारेमा अनुगमन गर्नको लागि नगरप्रमुख नेपालीको अध्यक्षतामा ७ सदस्य समिति गठन गरेको छ ।
‘हामिले पहिलो विद्यालयहरुको अनुगमन गछौं’ नगरप्रमुख नेपालीले भने ‘विद्यालयमा विद्यार्थीहरुको संख्या हेरेर निजी स्रोतका शिक्षकहरुको तलबको व्यवस्थापन गर्नेछौं ।’ कम विद्यार्थी भएका विद्यालयले पनि निजी स्रोतका शिक्षकहरु राखेको बताउँदै नेपालीले निजी स्रोतका शिक्षकको आवश्यकता अनुसार शिक्षकहरुको पदपुर्ति गर्ने र तलबको निर्धारण गर्ने जानकारी दिए ।
यस्तै बैठकले नगरपालिकामा आगामि आ.व. देखि सवै सरकारी विद्यालयहरुमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने निर्णय गरेको छ । खस्कदो शैक्षिक गुणस्तरका कारण सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुको आकर्षण घट्दै जान थाले पछि सामुदायिक विद्यालय प्रति विद्यार्थीहरुको आकर्षण बढाउन तथा शैक्षिक गुणस्तर बृद्धिका लागी आगामी शैक्षिक सत्र देखि अंग्रेजी माध्यमबाट पठनपाठन गराउने निर्णय गरिएको नगरप्रमुख नेपालीले बताए ।
यस्तै शैक्षिक गुणस्तर बृद्धिका लागी अनिवार्य कम्प्युटर शिक्षाको समेत ब्यवस्था गर्ने निर्णय गरिएको छ । जसका लागी हरेक विद्यालयमा १÷१ थान कम्प्युटर सहित प्रोजेक्टरको समेत नगरपालिकाले छिटै ब्यवस्था गरिदिने नगरप्रमुख नेपालीले प्रतिबद्धता जनाएका छन् ।
यसैविच अव देखि कक्षा ८ को जिल्लास्तरिय परिक्षा नगरपालिकाले सञ्चालन गर्ने भएको छ । शिक्षा मन्त्रालयले कक्षा ८ को जिल्ला स्तरिय परिक्षा सञ्चालन गर्न स्थानिय निकायलाई जिम्मा दिए संगै शिक्षा विभागले निर्णय गरि सबै स्थानिय निकायलाई परिक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार ढोरपाटन नगरपालिकाले पनि परिक्षा सञ्चालन गर्ने भएको हो ।