बागलुङ, ३० पौष
जिल्लामा स्थापना भएका सूचना तथा सञ्चार सहकारी संस्थाहरुको छाता संगठन सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङको तेस्रो वार्षिक साधारणसभा आइतवार बागलुङमा सम्पन्न भएको छ ।
साधारणसभाले संघको आगामी कार्यकालका लागि आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष मनकुमारी केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गुहेली सञ्चार सहकारी संस्थाका अध्यक्ष खीमबहादुर कार्की, सचिवमा सजिलो सञ्चार सहकारी संस्थाका अध्यक्ष नरेश कंडेल, कोषाध्यक्षमा गलकोट सूचना तथा सञ्चार सहकारी संस्थाका पूर्व अध्यक्ष राजबहादुर थापा चयन हुनु भएको छ ।
समितिका सदस्यहरुमा बागलुङ सूचना तथा सञ्चार सहकारी संस्थाका सचिव ज्ञानेन्द्र गौतम र सूर्य महिला सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष सुजाता नेपाली चयन हुनु भएको छ ।
यसैगरी साधारणसभाले सारथी सञ्चार सहकारी संस्था खरबाङका अध्यक्ष विष्णु प्रसाद भुषाल संयोजक तथा जनसञ्चार सूचना तथा सञ्चार सहकारी संस्था बुर्तिबाङका अध्यक्ष लोकेन्द्रबहादुर निरासी र जनता सञ्चार सहकारी संस्थाका कल्पना शर्मा सदस्य रहेको लेखा समिति चयन गरेको छ ।
साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सञ्चारमाध्यमलाई संस्थागत रुपमा अगाडि बढाउनका लागि सञ्चार सहकारीको शुरुवात गरिएको र ति सहकारी संस्थाहरुलाई सबल बनाउनका लागि संघको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
सूचना तथा सञ्चार सहकारी संस्थाहरुले धौलागिरिमा सञ्चारमाध्यम सञ्चालन गरेर जनतालाई सूसुचित गराउने काम गरेको भन्दै उहाँले आगामी दिनमा सञ्चारमाध्यमहरुको सबलीकरणका लागि थप योगदान गर्न र सहकारीको भावना आम जनताका बीच लैजान सञ्चार सहकारीहरुको भूमिका बढाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी मार्फत सञ्चारको दीगो विकासमा जोड दिनु भएको थियो ।
कार्यक्रम संघका अध्यक्ष मनकुमारी केसीको अध्यक्षता, लेखा समितिका संयोजक राजबहादुर थापाको स्वागत र सचिव नरेश कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभामा सचिव नरेश कंडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष खीमबहादुर कार्कीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक राज थापाले प्रस्तुत गरेको लेखा समितिका प्रतिवेदन पारित गरिएको थियो ।
बागलुङ जिल्लामा २०६३ सालदेखि सञ्चार सहकारी संस्थाहरुले संस्थागत रुपमा सञ्चारमाध्यम सञ्चालन गर्दै आएका छन् । जिल्लामा रहेका ३ वटा दैनिक पत्रिका मध्ये २ वटा, ९ वटा एफएम रेडियो मध्ये ५ वटा, ७ वटा साप्ताहिक मध्ये ४ वटा सहित आधा दर्जन अनलाईनहरु सहकारी संस्थामार्फत सञ्चालन भैरहेका छन् । सहकारीमार्फत सूचना र सञ्चारको क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि संघको भूमिकालाई थप प्रभावकारी बनाउदै लगिने नवनिर्वाचित अध्यक्ष केसीले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यसैबीच सोही अवसरमा जिल्ला सहकारी संघ बागलुङको अध्यक्षमा निर्वाचित हुनु भएका दिपक गौतमलाई संघका तर्फबाट वधाई ज्ञापन गरिएको थियो ।