
बागलुङ, २७ पुस
जिल्ला सहकारी संघ बागलुङको नवौ बार्षिकसाधारण सभाले पुनः दिपक गौतमको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्वत निर्वाचित गरेको छ ।
बिहिवार सम्पन्न नवौ बार्षिक साधारणसभाले गौतमको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अशोक गोविन्द राजभण्डारी, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा अञ्जु जिसी रहनु भएको छ ।
सदस्यमा खिमबहादुर कार्की, कविन्द्रप्रसाद शर्मा सापकोटा, धुर्वप्रसाद शर्मा, सिता शर्मा, सुनिता बिश्वकर्मा, रतनप्रसाद मलेपति र चिन्तामणी शर्मा निर्वाचित हुनु भएको छ । लेखा समितिको संयोजकमा रुद्रबहादुर केसी, सदस्यमा उत्तमबहादुर महत र लिलादेवि खड्का चयन हुनु भएको छ ।
साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका संचालक प्रभा कोइराला गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले देश निर्माणका लागि सहकारी प्रभावकारी बन्दै गएको बताउनुभयो । कोइरालाले पछिल्लो समयमा सहकारी सम्मृद्ध नेपाल निर्माणको प्रमुख आधारको रुपमा स्थापित भएको उल्लेख गर्दै अव सहकारीले नै सम्मृद्ध देश निर्माण गर्ने बताउनुभयो ।
उहाँले सरकारमा चलाउने नेताहरुले देशलाई खोक्रो पारेको आरोप लगाउँदै देशलाई हराभरा बनाउने जिम्मा सहकारीको भएको बताउनुभयो । सहकारीहरुले पनि सहकारीको मर्म भावनालाई बुझेर अगाडि बढ्न सकेमा मात्र देशले मुहार फेर्नेमा जोड दिदै कोइरालाले सहकारीका निती नियम सिद्धान्तलाई सवैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चार सहकारी संघका केन्द्रिय उपाध्यक्ष मनकुमारी केसी, राष्ट्रिय सहकारी बैङका केन्द्रिय संचालक रामबहादुर जिसी, बचत तथा ऋण सहकारी संघका केन्द्रिय संचालक चण्डीप्रसाद शर्मा पौडेल र जिल्ला सहकारी संघ बागलुङका संस्थापक अध्यक्ष कृष्णशंकर श्रेष्ठले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव युक्तप्रसाद कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुपाल चालिसेले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक तोयानाथ गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीको स्वागत र सचिव युक्तप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।










