कसले जित्ला पुरुष भलिबलको उपाधि, पश्चिमाञ्चलकी छन्त्याल ?

तस्विरः मञ्जुल शाक्य

अर्जुन कार्की
बागलुङ, २१ पुस
पाँचौं बागलुङ महोत्सवमा जारी खुल्ला पुरुष भलिबलको उपाधिको लागि पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र छन्त्याल कन्ट्रक्सन बागलुङ विच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमिफाईनल खेलमा पश्चिमाञ्चलले गल्कोट नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै र छन्त्याल कन्ट्रक्सनले नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डालाई ३–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाईनल खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनीले छन्त्याल कन्ट्रक्सनलाई पहिलो सेट २५–१९ ले जित्दै अग्रता लिएता पनि दोस्रो, तेस्रो र चौथो सेट १७–२५, २३–३५, १०–२५ ले लगातार जित्दै छन्त्याल फाईनलमा प्रवेश गरेको हो ।
यस्तै दोस्रो सेमिफाईनलमा पश्चिमाञ्चलले गल्कोटलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । पश्चिमाञ्चलले गल्कोटलाई २७–२५, २५–१५ र २५–२३ को सोझो सेटमा पराजित ग¥यो ।
शनिबारको पहिलो खेल नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा र गल्कोट नगरपालिका विच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछभने दोस्रो खेल पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ विरुद्ध छन्त्याल कन्ट्रक्सन विच फाईनल खेल हुने भलिबल उपसमितिका सदस्य सन्दिप पन्तले जानकारी दिनुभयो ।
१२ टिमको सहभागिता रहेको प्रतियोगितामा हालसम्म अपराजित टिम पश्चिमाञ्चल मात्र रहेको छ । छन्त्याल कन्ट्रक्सन भने समुह चरणको खेलमा गल्कोटसँग पराजित हुँदै समुह उपविजेता बनेको थियो ।
पुस १४ गते पोखरामा सम्पन्न भएको राखेप कपमा नेपाल प्रहरीलाई पराजित गर्दै तृतीय स्थान हासिल गरेको पश्चिमाञ्चलले प्रतियोगितामा हालसम्म उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । पश्चिमाञ्चलमा नेपाल टिमबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई सकेका सञ्जु विक्रम शाही रहेका छन्भने स्पाईकर अमृत केसी, ओमकार थापा लगायतका उत्कृष्ट खेलाडीहरु रहेका छन् ।
यस्तै प्रतियोगितामा एक खेलमा पराजित भएता पनि अन्य खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको छन्त्याल कन्ट्रक्सनले आफु विजेता बन्न लायक रहेको जनाई सकेको छ । पोखरा, बागलुङ, म्याग्दी, पर्वतका खेलाडीहरु समावेश रहेको छन्त्याल कन्ट्रक्सनले सेमिफाईनलमा आर्मिलाई पराजित गर्दा निकै राम्रो खेल प्रदर्शन गरेको थियो । दुवै टिम राम्रो फर्ममा रहेकाले फाईनल खेल निकै प्रतिस्पर्धात्मक बन्ने समर्थकहरुले आँकलन गरेका छन् । फाईनल खेल शनिबार विहान ९ बजे हुने आयोजकले जनाएको छ ।
पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने द्धितियले ५५ हजार ५ सय ५५ र तृतीयले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । महोत्सव २३ गतेसम्म जारी रहने छ ।