
बागलुङ, ११ पुस ।
आगमी माघ १६ गतेदेखि बागलुङमा संचालन हुने अन्तर नगरपालिका स्तरीय मेयर कप व्यवस्थापनको लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारको अध्यक्षमा सम्पन्न बैठकले खेल संचालन तथा व्यवस्थापनको लागि उपसमिति गठन गरेको छ ।
बैठकले खेलाडी तथा आवास सयोजक मनिष रायमाझी, मञ्च व्यवस्थापन राहुल बोहरा, स्वयसेवक परिचालन सूर्य लामिछाने, प्रसार–प्रचार संयोजक नन्द विष्ट, साँस्कृतिक झाँकी व्यवस्थापन विकासकुमार शाक्य, खेल मैदान व्यवस्थापनको जिम्मेवारी विकास थापालाई प्रदान गरिएको छ ।
त्यस्तै पुरस्कार व्यवस्थापन रामराज गुरुङ्ग, अतिथी सत्कार कमला श्रीस, खाना तथा खाजा व्यवस्थापन टकबहादुर बोहरा, रेफ्रि तथा खेला सामाग्री व्यवस्थापन भानु आचार्यलाई जिम्मेवारी प्रदान गरेको अध्यक्ष परियारले जानकारी दिनुभयो ।
खेल व्यवस्थापन तथा अनुशासन व्यवस्थापनको लागि जयराज भण्डारी, परशुनारायण बोहरा, दिलबहादुर किसान, प्रथामिक उपचार व्यवस्थापन शम्भु आयार्चा, सचिवालय व्यवस्थापन भिमसेन शाक्यलाई जिम्मेवारी तोकिएको छ ।
जिल्लामा पहिलो पटक बागलुङ नगरपालिकाले आयोजना गर्न लागेको प्रतियोगिता आकर्षक पुरस्कार राशि सहित आगामी माघ १६ देखी २१ गते सम्म सञ्चालन हुनेछ । शहिद दिवसका अवसर पारेर सञ्चालन गरिने मेयर कपमा प्रदेश नम्बर ४ का १२ भन्दा बढी नगरपालिकाका टिम सहभागी हुने छन् ।
मेयर कप बिजेता समूहले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेता समूहले नदग १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार सहित पुरस्कृत गरिनेछ भने बिभिन्न पाँच बिधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । उत्कृष्ट गोल रक्षक, रक्षापंक्ति, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई नगद ५ हजार सहित पुरस्कृत गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो ।










