
बागलुङ, ८ पुस
क्रिस्चियन धर्माबलम्बीको महान पर्व क्रिसमस डे नजिकिदै जाँदा शनिवार बागलुङमा क्रिसमस उत्सव मनाइएको छ ।
पर्वका अवसरमा नवजिवन मण्डली परिवारले बागलुङको ओडारचौरमा रहेको आफ्नै चर्चमा बिशेष उत्सवको कार्यक्रम गरेको हो । कार्यक्रममा प्रभु यशुका बारेमा तयार गरिएको नाटक, भजन, गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सञ्चालन गरेको ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा ५ हजार १ सय रुपैयाँ सहयोग गरिएको थियो । उक्त सहयोग रकम नवजिवन मण्डली परिवारका पास्टर प्रकाश जिसीले नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले मुलुक धर्मनिरपेक्ष भएको सन्दर्भमा आपसी सद्भाव र एकताबाटै समृद्धि सम्भव भएकाले सबै धर्मलाई सेवा र समृद्धि सँग जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नवजिवन मण्डलीका पास्टर प्रकाश जिसी, अनुप जिसी लगायतले क्रिसमस, प्रभु यशुको बारेमा चर्चा गर्नुभएको थियो ।
बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष धुव्र केसीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन उर्मिला जिसीले गर्नुभएको थियो ।










