अर्जुन कार्की
बागलुङ, ८ पुस
बागलुङमा प्रदेश नं. ४ का नगरपालिका स्तरिय मेयर कप फुटबल हुने भएको छ ।
बागलुङ नगरपालिकाको आयोजनामा माघ १६ गतेदेखि २४ गतेसम्म प्रदेश नं. ४ स्तरिय मेयर कप फुटबल–२०७४ हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
जिल्लामै पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रदेश नं. ४ का सवै नगरपालिकालाई सहभागिताको लागि आव्हान गरिएको र १२ वटा जति नगरपालिकाले सहभागिता जनाउन सक्ने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
हामीले जिल्लाको खेलकुदको विकासको लागि उक्त प्रतियोगिता संचालन गर्न लागिएको बताउँदै मेयर पौडेलले प्रतियोगिता गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो । प्रतियोगिता बागलुङ नगरपालिका–१को बाङ्गेचौर खेलमैदान र बागलुङ नगरपालिका–१० को भकुण्डे खेलमैदानमा संचालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख २२ हजार २ सय २२ र१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकले सम्मान ५–५ हजार प्राप्त गर्ने आयोजकले जानएको छ । यस्तै प्रतियोगिताको समेमिफाइनल पुग्ने टिमका खेलाडीहरुलाई प्रतिदिनको भत्ताको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता संचालनको लागि जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघको सहयोग रहने आयोजकले जानकारी दियो ।










