गलकोटमा रहेको बाघ ढुंगामा दर्शनार्थीको बढ्दो उपस्थिती

सुस्मा सुनार
बागलुङ, ५ पुस ।
बागलुङको गलकोटमा अवस्थित बाघढुंगामा पछिल्लो समयमा धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकासित हुँदै गएको छ ।
गलकोट नगरपालिका १ दुदिलाभाटी, भण्डारवन र बरेङ गाउपालिका हुग्दिशिरको सिमानामा पर्ने ऐतिहासिक धार्मिक स्थल बाघ ढुङ्गामा धार्मिक पर्यटक वर्षेनी बढदै जान थालेका हुन ।
लामो समयदेखी फरक बिशेषता र धार्मिक बिश्वास बोकेको बाघढुङ्गा ओझेलमा रहे पनि दर्शनार्थीको बढ्दो उपस्थितिले यस प्रतिको आस्था दर्शाएको छ ।
स्थानीय रुपमा मन्दिर व्यवस्थापन समिति गठन तथा युवाहरुको एकतामा विभिन्न भौतिक संरचना निर्माण र प्रचार प्रसार भएपछि श्रदालुभक्तजनको घुइचो लाग्न थालेको हो ।
बाघको आकारमा भएको ढुङ्गा र बिभिन्न किम्वदन्तिका कारण मन्दिरमा विभिन्न पाठा तथा परेवाको वलि चढाई पुजा गरिने बाघढुंगा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
भगवती र गणेशको विशेष पुजा गरिने यस स्थानमा मंगलबार, शनिवारका साथै पञ्चमी, अष्टमी र लगायतका दिनहरुमा पुजा हुने गर्दछ । सोही अनुसार यस वर्ष पनि विधिवत रुपमा १० वटा पाठा तथा २७ जोडि परेवाले पुजा सम्पन्न गरेको स्थानीय पुजारी भिमबहादुर खड्काले बताउनुभयो ।
मनोकांक्षा पुरा हुने विश्वासमा पछिल्लो समयमा गुल्मी, पर्वतका साथै बागलुङ जिल्लाका नरेँठाटी, हटिया, मल्ल, खर्वाङ, हुग्दिशिर, बाटाकाचौर, लेखानी, बिहुँ, हिल, अर्गल, ताराखोला लगायतका गाविसबाट पनि दर्शनार्थी उक्त स्थानमा पुग्ने गरेका छन् ।
दर्शनार्थीको बढ्दो उपस्थित भएपनि अझै यसको महत्वको बारेमा प्रचारप्रसार हुन सकेमा थप आकर्षण बढ्ने स्थानीयहरुको भनाई छ । आत्माले सोचेको कुरा पुरा हुने बिश्वासमा बाघढुङगाको भाकल गर्ने गरिन्छ ।
अझ यसको यथेष्ट प्रसार प्रसार, सडक लगायतका पुर्वाधार विकासमाका लागि गलकोट नगरपालिकाले ३ लाख बजेट समेत विनियोजन गरेको छ । स्थानीय र सरकारवालाले ध्यान दिन सके बाघ ढुङ्गा जिल्लामै एक धार्मिक गन्तव्य स्थलको रुपमा विकास हुन सम्भावना रहेको छ ।