बागलुङमा जिप र मोटरसाईकल ठोकिदा २ जना घाईते, अवस्था गम्भीर

बागलुङ, ५ पुस ।
बागलुङको बडिगाड गाउँपालिका–२ मा बुधबार बिहान सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
काँडेरुखनजिकै पिकअप भ्यान र दुई मोटरसाइकल एकै ठाउँमा ठोकिएर भएको दुर्घटनामा २ जनाको अवस्था गम्भीर छ । मध्यपहाडी लोकमार्गमा खर्वाङबाट ग्वालीचौरतर्फ जाँदै गरेको ना४च ३६६७ नम्बरको पिकअप जिपसँग विपरित दिशामा जाँदै गरेका ध१प ३२४६ र बा५५प ८०५० नम्बरका मोटरसाइकल ठोकिएका हुन् ।
घाइते ढोरपाटन नगरपालिका-१ का ३६ वर्षीय खगेन्द्र बिसी र सोही स्थानका २७ वर्षका सुरेन्द्र बोहोरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई गुल्मी मुसिकोटको मल्ल मेडिकलमा समान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत ग्रान्डी अस्पताल काठमाडौं पठाइएको बागलुङका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए ।
दुर्घटनामा ढोरपाटन नगरपालिका-१ कै २६ वर्षका भरत बिसी पनि घाइते छन् । पिकअप जिपसहित चालक खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरीक्षक लाल बहादुर चौधरीले जानकारी दिए ।
बुर्तिवाङबाट बुटवल जाँदै गरेका दुई मोटरसाइकल अगाडि गुडिरहेको यात्रुवाहक बसलाई ओभरटेक गर्ने क्रममा पिकअप भ्यानसँग ठोकिएका स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।