बागलुङमा मापदपण्ड विपरित सडक निर्माणः तत्काल सुधार गर्न नगरपालिकाको निर्देशन

नवीन शिशिर
बागलुङ, ३ पुस
बागलुङ नगरपालिका–२ श्रीनगर टोलदेखि बानपा–४ एटिएम चोकसम्मको सडक पिच गर्दा ठेकेदार कम्पनीले मापदण्ड विपरित निर्माण गरेको भेटिएको छ ।
बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल सहितको प्राविधिक टोलीले सोमबार स्थलगत अनुगमन गर्दा पिच सड्क प्राविधिक मापदण्ड विपरित भेटिए पछि तत्काल सुधार गर्न मुख्य ठेकेदार कम्पनी टुदी कन्ट्रक्सनलाई निर्देशन दिएको हो ।
पिच सडकको बेश १५ सेन्टीमिटर हुनुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीले १२/१३ को बेस निर्माण गरेको छ । स्थानीयवासीले गुणस्तरहिन काम भएको गुनासो गरे पछि मेयर पौडेल, प्रशासकिय अधिकृत तथा नगरपालिकाका प्राविधिक टोली स्थलगत अनुगमनको लागि पुगको थिए ।
पिच भएको सडक मध्ये एटिएमचोक देखि करिव ५०/६० मिटर पश्चिम तिरको सडकमा प्राविधिक मापदण्ड विपरितको बेस निर्माण भएको नगरपालिकाले बताएको छ । मुख्य ठेकेदार टुदी कन्ट्रक्सन भए पनि उक्त सडकको काम टि.पी निर्माण कम्पनीले गरेको थियो ।
स्थानीयवासीको गुनासो अनुसार अनुगमन गर्दा स्टिमिट विपरितको सडक निर्माण गरेको पाईयो– नगरप्रमुख पौडेलले भन्नुभयो ‘गुणस्तरमा कुनै सम्झौता हुँदैन मापदण्ड विपरितको पिचलाई तत्काल पुनःनिर्माण गर्न निर्देशन गरेका छौँ ।’
मुख्य ठेकेदार कम्पनी टुदी कन्ट्रक्सनले नगरपालिकाको निर्देशन लगतै सहायक निर्माण कम्पनीलाई पि.टी निर्माण सेवालाई सम्झौता अनुसारको गुणस्तरिय काम गर्न निर्देशन गरेको छ । मुख्य ठेकेदार कम्पनी प्रमुख यादव सुवेदीले सम्झौता अनुसारकै काम हुने बताउनुभएको छ ।
बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी पाईप विछ्याउने क्रममा सडक खने बापत नगरपालिकालाई तिर्नुपर्ने रकमबाट उक्त सडक निर्माणको काम सुरु भएको थियो । निर्माण कम्पनीले दुई सय २० मिटर सडक पिच गर्नुपर्ने सम्झौता भएको थियो ।