
सुष्मा सुनार
बागलुङ, ०२ पुस ।
तमु ह्युल छोज धी गलकोट नगरपालिका १ दुदिलाभाटीको आयोनामा लोसार मेला २०७४ हुने भएको छ ।
तमुहरुको महान पर्व च्हयाल्हो चरा वर्गको विदाई र खिल्हो कुकुर वर्गको स्वागतको अवसर पारेर विविध कार्यक्रम सहित मेला मनाउन लागिएको आयोजकले जनाएको छ ।
विगतका वर्षहरुमा जस्तै मेलाका अवसरमा साविकको खुल्ला वार्ड स्तरीय पुरुष भलिवलव प्रतियोगिता, नेपाली मौलिक नौमति बाजा, बोरा दौड, शटफुट लगायतको प्रतियोगिताको आयोजना गरिएको मेला मुल आयोजक समितिले जनाएको छ ।
जसमा पुरुष भलिवल प्रतियोगिताको प्रथम पुरस्कार नगद ५५ हजार ५ सय ५५, द्धितीय पुरस्कार ३५ हजार ५५ र तृतीय २५ हजार साथमा मेडल र प्रमाण पत्र राखिएको छ । त्यस्तै मौलिक नौमती बाजा प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमशः नगद २० हजार, १० हजार , त्यसैगरि बोरा दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः १ हजार, ७ सय र ५ सय साथमा प्रमाण पत्र प्राप्त गर्ने छन भने शटफुट प्रतियोगिता विजेताले नगद १५ सय र प्रमाण पत्र प्राप्त गर्ने मेलाका मुल संयोजक जगदिस गुरुङले जानकारी दिनुभयो ।
पौष १२ गतेदेखि १५ गतेसम्म संचालन हुन लागेको मेलाको प्रचार–प्रसार, कार्य विभाजन लगायतको सम्पुर्ण तयारीलाई तिव्रता दिइएको तमु ह्युल छोज धी अध्यक्ष तिलबहादुर गुरुङले बताउनुभएको छ ।










