बागलुङ, २२ मंसिर
बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुर्य पाठकले वहालवाला मन्त्री चम्पादेवी खड्काले भन्दा १३ हजार ४१ मत बढी ल्याएर विजयी भएका छन् ।
३३६५७ मत प्राप्त गरी निर्वाचित भएका पाठकको जिवनी तथा नालीबेली हामीले तयार पारेका छौं । हेरौं उहाँको नालीबेली
डा. सुर्य प्रसाद पाठक

बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पाठक हाल ४२ वर्षका हुनुभयो । २०३२ पौष २२ गतेका दिन हालको बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौर (साविकको अमलाचौर गाविस)मा जन्मेका पाठकले विद्यावारिधि (पिएचडि) गर्नुभएको छ । पाठकले २०४५ सालमा अनेरास्ववियु पाचौको सदस्यता लिएर राजनीतिकको सुरुवात गरेका थिए ।
उहाँले अनेरास्ववियुको सदस्यता लिएको वर्ष नै राजाकाज मुद्धाको अभियोग खेप्नुपरेको थियो । उहाँले मुद्धा परेता पनि आफ्नो राजनैतिक यात्रालाई नरोकि २०४६ सालको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्नुभएको थियो ।
२०४७ सालमा अनेरास्ववियुको जिल्ला सदस्य बनेका पाठक २०४८ सालमा सहसचिव बन्नुभएको थियो । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका पाठकले २०५१ सालमा एमालेको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । पाठक २०५४ सालमा अनेरास्ववियु त्रिचन्द्र क्याम्पसको प्रका अध्यक्ष, ०५५ सालमा अनेरास्ववियुको जिल्ला कमिटि सहसचिव, ०५६ सालमा अनेरास्ववियुबाट त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति पदमा नेपाली काँग्रेसका गगन कुमार थापासँग पराजित भएका थिए ।
पाठक सन् २००० मा अध्ययनको लागि जापानमा गएता पनि राजनीतिक यात्रालाई भने अगाडी बढाई रहनुभएको थियो । उहाँले जापान गएपछि सन् २००० मा प्रवासी नेपाली मञ्च जापानको सदस्यता लिएपछि सन् २००५ मा प्रवासी नेपाली मञ्च जापानको उपसचिव हुँदै सन् २००७ देखि २०११ सम्म प्रवासी नेपाली मञ्च जापानको अध्यक्षको पदमा रहि काम गर्नुभएको थियो ।
पाठकले जापानमा पढाई सम्पन्न गरेपछि २०७२ सालको दोस्रो संविधानसभाको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट एमालेको उम्मेदवार बन्नुभएको थियो । पाठक हाल जिल्लाको राजनीतिमा युवाहरुको अगुवाई गर्दै आईरहनुभएको छ । पाठकले आफ्नो बलियो प्रतिद्वन्द्वी निर्वतमान सांसद एवं सहकारी तथा गरिवि निवारण राज्य मन्त्री नेपाली काँग्रेसकी चम्पादेवी खड्कालाई पराजित गर्दै विजयी हुनुभएको छ ।










