
बागलुङ, २१ मंसिर
प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनमा पर्वतमा ६५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका कुल १ लाख ७ हजार तीन सय मध्ये ६९ हजार ७ सय ८२ जनाले मतदान गरेका हुन् । जस मध्ये ३१ हजार १ सय ३२ पुरुष रहेका छन् भने ३८ हजार ६ सय ५० महिलाले मतदानमा सहभागिता जनाएका हुन् । ३७ हजार पाँच सय १८ जना मतदाता भने मतदान प्रकृयामा सहभागि नभएको पाईएको छ ।
जिल्लाका ७४ स्थानमा रहेका एक सय ३९ वटै मतदान केन्द्रमा विहान ७ बजेदेखि साँझ पाँच बजे सम्म शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । उनका अनुसार पर्वतका मतदाताले विहानैदेखि उत्साहपूर्वक रुपमा मतदानमा सहभागिता जनाएका थिए ।
प्रतिनिधि सभामा एक र प्रदेश सभा तर्फ दुई वटा क्षेत्र रहेको पर्वतमा बाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।पर्वतमा ५५ हजार ४ सय ८६ महिला र ५१ हजार ८ सय १४ पुरुष मतदाता रहेका छन् । जिल्लाको क्षेत्र नं. १ मा ५८ हजार ८ सय २१ र क्षेत्र नं. २मा ४८ हजार ४ सय ७९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लाका सात वटा स्थानिय तहका ६१ वडाका सवै मतपेटिका आजै राती १ बजेसम्म सदरमुकाम आइपुग्ने र भोलि दिउँसोदेखि मतगणना कार्य शुरु गरिने मूख्य निर्वाचन अधिकृत ध्रुव सापकोटाले बताए ।










