
बागलुङ, १७ मंसिर
बागलुङ बजारमा शुक्रबारदेखि सुरुवात भएको ३ दिने आधारभुत प्राथमिक उपचार सम्बन्धी तालिमको आईतबार सम्पन्न भएको छ ।
विद्यालय सुरक्षा तथा विपद् जोखिम न्युनिकरण परियोजना अन्तरगत भएको उक्त तालिममा बागलुङका २० विद्यालयका २० जना शिक्षक र परियोजनाका ४ जना कर्मचारीको सहभागिता रहेको थियो ।
विद्यालय तथा समुदायमा हुने प्राकृतिक विपदका वेला कसरी चाडो प्राथमिक उपचार गर्ने भन्ने बारे दिइएको तालिमको सहजिकरण नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका कर्ण बहादुर कार्की, कृष्ण आचार्य र म्याग्दी शाखाका मुक्तिप्रसाद शर्मा र काशिराम शर्माले गर्नुभएको थियो । उहाँहरुले प्राकृतिक विपदको बेलामा स्थानिय स्रोत साधनको प्रयोग गरेर कसरी प्राथमिक उपचार गर्ने बारेमा जानकारी गराउनुभएको थियो ।
तालिमको समापन समारोहमा बोल्दै प्लान इन्टरनेशनल नेपालका विद्यालय सुरक्षा तथा विपद् जोखिम न्यूनिकरण परियोजनाका कार्यक्रम संयोजक कपिल सिलवालले नेपाल प्रकृतिक जोखिममा रहेको र यहाँका विद्यालयहरुको संरचनाहरु कमजोर रहेकाले जिवन रक्षाको लागि यस तालिम महत्वपूर्ण रहेको बताउनुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय बागलुङका कर्ण बहादुर कार्की, मुलपानी माध्यमिक विद्यालयका शिक्षक सरिता शर्मा र लेखानी माध्यमिक विद्यालयका शिक्षक महेश घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन नेपाल गाजा फाउण्डेसन बागलुङ सुर्य प्रसाद कंडेलले गर्नुभएको थियो ।
यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसको साझेदारीमा सञ्चालित सो परियोजना बागलुङ जिल्लाका ४० वटा विद्यालयमा आगामी २०१८ सेप्टेम्बरसम्म संचालन भईरहेको छ ।










