बाम गठबन्धन जहाँ गयो त्यही आमसभा

बागलुङ, १ मंसिर
राजनीतिक स्थिरता, समृद्धि र विकासलाई मुख्य नारा बनाएर चुनावी मैदानमा होमिएको बागलुङका तीन बाम गठबन्धनको पक्षमा जनलहर बढ्न थालेपछि बाम गठबन्धनका उमेदवार जहाँ पुग्यो त्यही आमसभा हुने गरेको छ । सामान्य घरदैलोदेखि जनभेटघाटका लागि गाउँ गाउँमा पुगेका बाम उमेदवारहरुका पक्षमा जनलहर बढ्न थालेपछि ठाउँ ठाउँमा आमसभा गर्नुपर्ने अवस्था आएको बाम गठबन्धनमा सहभागी नेताहरुले बताएका छन् ।
गाउँ गाउँका जनता खेती किसानीमा व्यस्त हुने समय भएकाले थोरै मात्र कोणसभा, आमसभा गर्ने तयारी गरिएको भएपनि जनताको बाक्लो उपस्थितिका कारण आमसभानै गर्नुपर्ने अवस्था आएको नेकपा एमालेका अध्यक्ष एवं प्रदेशसभाका उमेदवार इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अुनसार जनतालाई आफ्ना कुरा राख्नका लागि सभा गरेर भ्याइनभ्याई भइरहेको छ ।
देशभर बाम गठबन्धन गरेर चुनावी प्रचार प्रसारको क्रम चलिरहेपनि बागलुङको बाम गठबन्धनले बेग्लै रौनक ल्याएको प्रतिनिधिसभा क्षेत्र नम्बर एकका उमेद्वार डा. सूर्य पाठकले बताउनुभयो । ७० प्रतिशत भन्दा बढी बाम पन्थीको जनमत रहेको जिल्लामा रहेका तीन बाम घटक नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी एकता भएको खुसीयालीमा बाम गठबन्धनले गरेका कार्यक्रमहरुमा बामपन्थी विचार राख्नेहरुको बाक्लो उपस्थिति हुने गरेको डा. पाठकले बताउनुभयो ।
‘नेपालमा पटक पटक राजनीतिक परिवर्तनहरु भए, सबै दलहरुको सहभागितामा भएका परिवर्तनको संस्थागत गर्नेबेलामा नेपाली काँग्रेसले जनतालाई धोका दिएकाले पनि जनताको उत्साह बाम गठबन्धनप्रति बढेको पाठकको बुझाई छ । ‘बामपन्थी पार्टीहरु विभिन्न धारमा उभिएर आफ्नै तरिकाको राजनीति गर्न थाल्यौं, काँग्रेसले त्यसैको फाइदा लियो, बाम गठबन्धन छिन्न भिन्न हुँदा कांग्रेसलाई जनताले अवसर त दिए तर कहिल्यै जनताले दिएको अवसरलाई सही सदुपयोग गर्न सकेन, त्यसको प्रभाव अहिलेको चुनावमा काँग्रेसले नराम्ररी व्यहोर्दै छ ।’ पाठकले भन्नुभयो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर दुइका उमेदवार एवं माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बामपन्थी पार्टी कसैका विरुद्ध नभई मुलुक समृद्धिका लागि भएको बताउनुभयो । अहिलेसम्म बनेका बामपन्थी नेतृत्वको सरकारले जनताका पक्षमा थुप्रै काम गरेको बताउँदै जनताको अभिमत रोक्नका लागि नेपाली काँग्रेसले बामपन्थी शक्तिका विरुद्ध भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो । ‘अहिले काँग्रेस नेताहरु बामपन्थीले जीते रुन नपाइने, हास्न नपाइने, खान नपाइने जस्ता भ्रम सिर्जना गर्न उद्धत छन्, जनताले कसको पालामा के भयो भन्ने सबै थाहा पाएकाले यसको प्रतिवाद गर्नु उपयुक्त नभएको बताउनुभयो ।’
बागलुङ क्षेत्र नम्बर एक प्रदेश सभा दईका उमेदवार एवं राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले जनताको साथ बाम गठबन्धनलाई भएको दावी गर्नुभयो । ‘अहिलेसम्म जतिपनि गाउँमा गयौं कहिँकतैपनि मन खिन्न पार्नुपर्ने अवस्था आएको छैन, जहाँ गयो त्यही जनताको साथ र समर्थन छ, चुनावी अभियान सोचेभन्दा राम्रो भएकाले सबै बामपन्थी उमेदवारको जित निश्चित छ ।’


क्षेत्र नम्बर दुई प्रदेश नम्बर एकका उमेदवार एवं माओवादी केन्द्रका नेता चन्द्रबहादुर बुढा सागरले लामो समयदेखि छिन्न भिन्न भएका बामपन्थीबाट फाइदा लुटेको काँग्रेसले गठबन्धनका पार्टी नेता कार्यकर्तालाई भड्काउने खेलमा लागेको भन्दै अब त्यो भ्रम हटेको बताउनुभयो । तीन पार्टीको एकता चुनावसम्म मात्रै हो भनेर जनताले प्रश्न गर्ने गरेको भन्दै सागरले बागलुङमा आयोजित तीन गठबन्धनका तीन शीर्ष अध्यक्षहरुको सम्बोधनले ति उत्तरको प्रश्न दिएको बताउनुभयो । ‘नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताकै कुरा भइरहेको छ, हिजो अन्य बामपन्थी राजनीतिमा लागेका नेताहरुपनि बाम गठबन्धनमा सहभागी भइरहेका छन्, अब मुलुकमा एउटा बामपन्थी पार्टी बन्नेमा धेरैको विश्वास छ ।’ सागरले भन्नुभयो ।
बागलुङ क्षेत्र नम्बर दुई प्रदेश नम्बर दुईका उमेदवार टेकबहादुर घर्तीले बागलुङका विकट क्षेत्र मानिएका ठाउँमा पुग्दा आफूलाई जनताको साथ र सहयोग प्राप्त भएको बताउनुभयो । हिजो सत्तामा बसेर हालीमुहाली गरेकाहरु अहिलेपनि एक–दुई सय मिटर पाइप, दुई–चार हजारका योजना दिन्छौं भन्दै हिडे्को बताउँदै घर्तीले सत्ताको दुरुपयोग गर्नेहरुलाई मत नदिने निष्कर्षमा जनता पुगेको बताउनुभयो ।
दुई संघ र चार प्रदेशका लागि दुई–दुई सिट बाँडेर निर्वाचनमा होमिएका तीन बाम घटकबीचको चुनावी एकता अत्यन्त सानदार रहेको मतदाताहरुले समेत बताउँने गरेका छन् । ‘यस अगाडिपनि यस्ता गठबन्धन, एकता हुन्थे, तर के–के नमिलेको जस्तो हुन्थ्यो, अहिले त पार्टीनै एक हुने भएर होला, सबै मिलेको मात्र देखिन्छ, अब जनता भ्रममा नपरी बाम गठबन्धनलाई जिताउनेमा कुनै शंका छैन ।’ पैयुपाटाका एक मतदाताले भने । बागलुङमा तरल मत कम भएको र बाम गठबन्धनका पक्षमा ठूलो जनमत रहेकाले पनि ६ वटै सिट बाम गठबन्धनले जित्ने आँकलन गरिएको छ ।