
बागलुङ, २८ कार्तिक
बागलुङको क्षेत्र नं २ मा वाम गठबन्धनद्वारा आयोजित एक चुनावी सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘अहिले पनि चुनाव नजित्ने हो भने कपडासँगै कालीगण्डकीमा हाम फाले हुन्छ ।’
जनमोर्चाका अध्यक्ष केसीको भनाइलाई आधार मान्ने हो भने बागलुङमा सक्रिय कम्युनिस्ट शक्ति एक हुँदा प्रजातान्त्रिक गठबन्धन कमजोर अवस्थामा रहेको छ । तर दुवै शक्तिलाई यसपटकको निर्वाचन जित्नैपर्ने दबाब रहेको छ । तर विगतमा सम्पन्न संविधानसभा निर्वाचन तथा स्थानीय तह निर्वाचनमा विभाजित वाम राजनीतिको फाइदा निरन्तर नेपाली कांग्रेसको पक्षमा गएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एकल चुनावी मैदानमा खडा हुँदा नेपाली कांग्रेसले २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा राम्रोसँग फाइदा उठाएको थियो । २०७० सालको निर्वाचनमा नेपाली कांग्रेस जिल्लाका तीनैवटा सिटमा आफ्नो विजयी हुँदा वामशक्ति मत संख्यामा बढी भए पनि निर्वाचन हारेका थिए । तत्कालीन अवस्थामा वामशक्तिले तीनै निर्वाचन क्षेत्रमा कुल ८६ हजार ६ सय १ मत प्राप्त गर्दा नेपाली कांग्रेसले ३५ हजार ५ सय ७४ मत प्राप्त गरी तीनै निर्वाचन क्षेत्रमा विजयी भएको थियो ।

बामशक्ति विभाजनको फाइदा जहिले पनि नेपाली कांग्रेसको पक्षमा रहेको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनको मत संख्यालाई हेर्ने हो भने क्षेत्र नं. १ मा वामशक्तिले २८ हजार २ सय ९३ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २३ हजार १ सय ३९ मत प्राप्त गरेको छ । क्षेत्र नं. १ मा वाम गठबन्धन प्रजातान्त्रिक गठबन्धनभन्दा ५ हजार १ सय ५४ मतले बढी देखिन्छ । त्यस्तै क्षेत्र नं. २ मा वाम गठबन्धनले २६ हजार ५ सय ४० मत प्राप्त गर्दा नेपाली कांग्रेसले मत १८ हजार ३४ मत प्राप्त गरेको छ । सो क्षेत्रमा वाम गठबन्धन प्रजातान्त्रिक गठबन्धनभन्दा ८ हजार ५ सय ६ मत बढी रहेको छ । २०७० सालको सविधानसभा निर्वाचन र स्थानीय निर्वाचनको मतलाई तुलना गर्दा वाम गठबन्धनलाई निर्वाचन सहज देखिए पनि प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।
निर्वाचनमा भूगोल विशेष, उम्मेदवारको व्यक्तित्वजस्ता विषयले प्रभाव पर्ने धौलागिरि बहुमुखी क्याम्पस बागलुङका राजनीतिक शास्त्र प्राध्यापक डिल्लीराज गौतमको विश्लेषण छ । आगामी १० मंसिरमा हुने निर्वाचनमा नेपाली कांग्रेसलाई विगतको ‘विरासत’ जोगाउँदै आफ्नो किल्ला सुरक्षित गर्नुपर्ने चुनौती रहेको छ । यसैगरी तीन वामशक्ति एक भएर निर्वाचनमा होमिएका वाम गठबन्धनलाई विगतको मत सुरक्षित राख्दै आफैंले घोषणा गरेअनुसार विजयी हुनुपर्नेछ ।
राजनीतिक रूपमा वाम गठबन्धन प्रतिरक्षात्मक अवस्थामा देखिएको र लोकतान्त्रिक गठबन्धन मत आकर्षणका लागि ‘शालीन आक्रामक’ बन्नुपर्ने अवस्थामा रहेको शिक्षक गौतमको भनाइ छ । २०७० सालमा भएको संविधानसभा र २०७४ सालको स्थानीय निर्वाचनमा आएको मत परिणामलाई आधार मानेर हेर्दा पनि वाम गठबन्धन रक्षात्मक र लोकतान्त्रिक गठबन्धन शालीन आक्रामक अवस्थामा रहेको पुष्टि हुन आउँछ । स्थानीय निर्वाचनपश्चात् जिल्लामा १० हजार ४ सय १७ जना नयाँ मतदाता थपिएका छन् ।










