चिल्ड्रेन लाईफ फुटबल कप सुरु, पहिलो खेलमा आयोजकको आधादर्जन गोल

बागलुङ, २४ कार्तिक
चिल्ड्रेन लाईफ इङ्लीस बोर्डिङ स्कुल बागलुङको आयोजनामा शुक्रबारदेखि बागलुङमा चिल्ड्रेन लाईफ फुटबल कप–२०७४ सुरु भएको छ । अन्तर माध्यमिक विद्यालय स्तरिय उक्त प्रतियोगितामा १६ विद्यालय टिमको सहभागिता रहेको छ ।
उद्घाटन खेलमा चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल निलोले सनराइज बोडिङ्ग स्कुल बागलुङलाई ६–१ गोलअन्तरले पराजित गरेको छ ।
खेलअवधि भर चिल्ड्रेन लाईफ हावि भएको खेलमा पहिलो हाफको १५ मिनेटमा राजिव श्रीसले गरेको गोल अपसाईट हुन परेको थियो । पहिलो हाफको २२ मिनेटमा चिल्ड्रेन लाईफका मनोज थापा, २८ मिनेटमा राजिव श्रीस र २९ मिनेटमा सरोज क्षेत्रीले गोल गरेका थिएभने दोस्रो हाफको ६ मिनेटमा लोकेन्द्र पुन, ८ मिनेटमा नारायण कुँवर र २५ मिनेटमा पेनाल्टी मार्फत सौगात थापाले गोल गरेका थिए । सनराइजका गोलकिपरले चिल्ड्रेन लाईफका स्ट्राईकर राजिव श्रीसलाई डिबक्स भित्र फलगरेपछि चिल्ड्रेन लाईफले पेनाल्टी पाएका थियो । खेलको सान्तोला गोल सनराइजका डेनिस थापाले गरेका थिए ।
फुटबल कपको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय बागलुङका जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले खेलमा हारजीत पक्कै हुने भन्दै जेभएता पनि खेलाडीहरुले अनुसाशनमा रहेर खेल्नको लागि अनुरोध गर्नुभएको थियो । उहाँले खेलाडीहरुलाई आफ्नो क्षमता र अनुभवले भ्याएसम्मको खेल प्रदशन गर्नुपर्ने बताउँदै विद्यार्थीहरुमा फरक फरक गुण हुने भएकाले कसैमा पढाईमा र कसैमा खेलकुदमा हुने भन्दै खेलबाट पनि राम्रो गर्न सकिने बताउनुभयो ।


चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा बागलुङ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दुर्गा बहादुर बोहोरा र स्कुलका अध्यक्ष नवराज पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक सुर्यन्द्र शाक्यले गर्नुभएको थियो ।
२९ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २५ हजार र १५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलबाट बाहिरिने टिमले ५ हजार नगद प्राप्त गर्ने आयोजकले खबरवे अनलाईनलाई जनाएको छ ।
प्रतियोगिता अन्तरगत भोली शनिबार चार खेल हुने आयोजकले जनाएको छ । शनिबारको पहिलो खेल अमृत आदर्श माध्यमिक विद्यालय विरुद्ध सिदार्थ शिक्षा सदन, दोस्रो खेल भिमसेन माध्यमिक विद्यालय काठेखोला–६ विहुँ विरुद्ध चिल्ड्रेन लाईफ रातो, तेस्रो खेल त्रिभुवन माध्यमिक विद्यालय विरुद्ध कालिगण्डकी माध्यमिक विद्यालय र अन्तिम तथा चौथो खेल अमर आदर्श माध्यमिक विद्यालय विरुद्ध गरिमा आवासिय माध्यमिक विद्यालय विच हुने चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका शिक्षक सुरेन्द्र शाक्यले खबरवे अनलाईनलाई जानकारी दिनुभयो ।