प्रदेशसभा सदस्यका उम्मेदवारहरुको नालीबेली

बागलुङ, २० कार्तिक
कार्तिक ५ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्तासँग बागलुङमा चुनावी सरगर्मी ह्वातै बढेको छ । ग्रामिण क्षेत्रका मतदाता कृषि कर्ममा अतिनै व्यास्थ रहेको अवस्थामा पनि उम्मेदवारहरु सम्बन्धी ठाउँका प्रभावशाली व्यक्तिको साथ लिएर दलबलका साथ मतदाताको खेतबारी मै पुगेर आफ्नो पक्षमा मत फकाउन भ्याई नभ्याई छ । नयाँ संरचनामा हुन गएको निर्वाचन मतदातादेखि स्वयम उम्मेदवरको लागि समेत नयाँ अनुभव हो । समय अभाव र राजनीतिक गतिविधिका आधारमा सबै उम्मेदवारको विषयमा आम मतदातालाई उम्मेदवारको विषयमा जानकारी नहुन पनि सक्छ । यो अंकमा हामीले बागलुङका प्रदेशसभा अन्तर्गतका उम्मेदवारको बारेमा विस्तृत जानकारी प्रयास गरेका छौँ ः

बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १का प्रत्यक्ष तर्फका उम्मेदवारहरु

इन्द्रलाल सापकोटा
नेकपा एमाले
नेकपा एमाले बागलुङका पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाले बागलुङ क्षेत्र नम्बर १ को १ बाट उम्मेदवारी दिनुभएको छ । सापकोटाको जन्म २०२६ पुस १७ गते साविकको मालिका गाविस (हाल बागलुङ नगरपालिका–५)मा भएको थियो । विद्यार्थी जीवनबाट नै राजनीतिमा लाग्नुभएको सापकोटाले वि.एल.सम्म अध्ययन गर्नुभएको छ । २०४२ सालमा अनेरास्ववियुबाट औपचारिक राजनीतिमा प्रवेश गर्नुभएको सापकोटालाई २०४४ सालमा राजकाज अपराधको मुद्धामा हिरासतमा रहि ११ हजार धरौटीमा रिहा हुनुभएको थियो ।
नेकपा एमालेको युवाहरुको संगठन युवा संघ नेपालदेखि राजनीतिकमा सक्रिय सापकोटा २०५१ सालमा युवा संघ जिल्ला अध्यक्ष भई काम गर्नुभएको थियो । युवा संघको जिल्ला अध्यक्ष हुँदा नै सापकोटा केन्द्रिय सदस्य समते बन्नुभएको थियो । वि.स २०५४ सालको स्थानिय निर्वाचनमा मालिका गाविसमा २८ वर्षकै उमेरमा गाविस अध्यक्ष बन्नुभएको सापकोटा सोही सालमा जिल्ला पार्टी कमिटिको सदस्य बन्नुभएको थियो ।
२०६२ सालमा युवा संघको केन्द्रिय महासचिव बन्नुभएका सापकोटा २०६१/६२ मा एमालेको जिल्ला सचिव भई काम गर्नुभएको थियो । सापकोटा सचिव रहेकी बेला दोस्रो जनआन्दोलनमा ३ पटकसम्म ७२ दिन हिरासतमा रहनुभएको थियो । निरन्तर राजनीतिकमा रहनुभएका सापकोटाले २०७३ सालमा नेकपा एमाले बागलुङको आठौं जिल्ला अधिवेशनबाट पार्टी अध्यक्षमा विजयी हुनुभएको थियो । सापकोटाले रेडक्रस, सहकारी, विद्यालय लगायतको व्यवस्थापन समितिमा रहि काम गरेको अभुनव छ ।
एमाले बागलुङका अध्यक्ष समेत रहेका सापकोटाल बागलुङ बजार–कुडुले त्रिपतिचोक–मालिका–तितौरे–भीमापोखरा–धम्जा–तंग्राम–विहुँ–रेश सिगाना–तित्याङ–भकुण्डे–रायडाँडा–अमलाचौर–पैयुपाटा–नारायणस्थान हुँदै बागलुङ बजारसम्मको चक्रपथ निर्माण गरिने, पञ्चकोटधाम, भकुण्डे, घुम्टेको धुरी लगायतका स्थानमा केबलकार संचालन गरी सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रुपमा विसका गरिने, बागलुङ बजार–बलेवा एयरपोर्ट–साराङ्गे–भैरवस्थान मन्दिर–मुलावारी (भकुण्डे)–रायडाँडाको धुरी–तित्याङ–सिगाना बौडेचौर–लेखानी–घोडाबाँधे–तंग्राम–धम्जा–भीमापोखरा–पाला–पञ्चकोट–मालिका कुँडुले हुँदै बागलुङ बजारसम्मको साइकल यात्राको लागि आवश्यक पूर्वाधार निर्माण गरिने लगायतका एजेण्डालाई अगाडी सारेर चुनावी अभियानमा लाग्नु भएको छ ।

दिपेन्द्र बहादुर थापा
नेपाली काँग्रेस
नेपाली काँग्रेस बागलुङका पार्टी सभापति हुन दिपेन्द्र बहादुर थापा । नेपाली काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका थापाको जन्म २०२२ फागुन २२ गते भएको हो ।
१० वर्षको उमेरमा नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघबाट आफ्नो राजनीतिक यात्रा सुरुवात गर्नुभएको थापाले आईएमसम्म अध्ययन गर्नुभएको छ । शिक्षक पदमा रहेका थापाले २०४३ सालमा जागिर छाडेर राजनीतिकमा क्रियाशिल बन्नुभएको थियो ।
सानैबाट नेपाली काग्रेसको राजनीतिकमा क्रियाशिल रहेता पनि थापाले २०४६ सालमा पार्टीको क्रियाशिल सदस्यता प्राप्त गर्नुभएको थियो । क्रियाशिल सदस्यता पाएकै वर्ष थापा पार्टीको क्षेत्रिय कार्यवहाक सभापति भई काम गर्नुभएको थियो । थापाले २०५० सालमा पार्टीको जिल्ला सदस्य हुँदै २०५३ सालदेखि हालसम्म पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहीरहनुभएको छ । २०५८ देखि २०६७ सम्म पार्टीको जिल्ला सचिव पदमा काम गरिसक्नुभएको थापाले २०७० सालमा भएको नेपाली काँग्रेस बागलुङको अधिवेशनबाट पार्टी सभापतिमा विजयी हुनुभएको थियो ।
राजनीतिकमा रहेर काम गर्ने शिलशिलामा थापाले २०४९ सालमा भएका स्थानिय निर्वाचनबाट साविकको रायडाँडा गाविसको गाविस अध्यक्ष र २०५४ सालको स्थानिय निर्वाचनमा निर्विरोध गाविस अध्यक्ष बन्नुभएको थियो । थपा विभन्न मठमन्दिर व्यवस्थापन समिति, क्लब, विद्यालय व्यवस्थापन समिति, खानेपानी, मोटरबाटो निर्माण समितिहरुमा रहि काम गरिसक्नुभएको छ ।
काँग्रेसका पार्टी सभापति समेत रहेका थापाले बागलुङ बजारदेखि, भकुण्डे, अमलाचौर, भैराव थान केबुलकार संचालन गर्ने, बागलुङ नगरपालिका, पाला, भीमापोखरा, धम्जा, तंग्राम, विहुँ, लेखानी, रेश, सिगाना, तित्याङ, भकुण्डे अमलाचौरको रिङरोड सडक निर्माण गर्ने, पञ्चकोटलाई धार्मिक पर्यटनस्थलको रुपमा विकास गर्ने लगायतका एजेण्डाहरु अगाडी सारेर चुनावी प्रचार प्रसार गरिरहेका छन् ।

बद्रि कुमार श्रेष्ठ
संघिय समाजवादी फोरम नेपाल
बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ मा संघिय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ बद्रि कुमार श्रेष्ठ । २०११ जेष्ठ ४ गते जन्मेका श्रेष्ठले एसएलसी सम्म अध्ययन गरेका छन् ।
२०५० सालमा नेकपा एमालेको साधारण सदस्य लिँदै राजनीतिक यात्रामा होमिनुभएका श्रेष्ठ २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पार्टी परिवर्तन गरेर परिवार दलको तर्फदेखि चुनावमा उठ्नुभएको थियो ।
श्रेष्ठले २०७० सालमा संघिय समाजवादी फोरम नेपालमा प्रवेश गर्दै हाल पार्टीको जिल्ला उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँले बागलुङको विकास र आर्थिक समृद्धिको एजेण्डाहरु अगाडी सारेर चुनावी अभियानमा सक्रिय हुनुहुन्छ ।

जयलाल सापकोटा
एकिकृत राप्रपा राष्ट्रवादी
बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ मा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ जयलाल सापकोटा ।
वि.सं. २०२६ साउन १ गतेका दिन जन्मनुभएका सापकोटाले एसएलसीसम्म अध्ययन गर्नुभएको छ । २०५९ सालमा राप्रपा नेपालको सदस्यता लिएर राजनीतिकमा क्रियाशिल बन्नुभएका सापकोटा राप्रपाको सहसचिव पदमा रहेर काम गरिसक्नुभएको छ । सापकोटाले राप्रपामा रहदा राप्रपा नेपालको भातृ संगठन कृषि समितिको अध्यक्ष समेत भएर काम गर्नुभएको थियो ।
२०७४ सालमा राप्रपा परित्याग गरि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)मा लाग्नुभएका सापकोटा अहिले पार्टीको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । सापकोटा उपभोक्ता मञ्च बागलुङको सदस्य पदमा रहि काम गरिरहनुभएको छ । सापकोटाले चुनावी मुख्य उद्देश्यको रुपमा हिन्दुराज्यको माग चुनावी अभियानमा सक्रिय हुनुहुन्छ ।

कृष्ण शर्मा
नयाँ शक्ति पार्टी नेपाल
बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ मा नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ कृष्ण शर्मा ।
वि.सं. २०४३ सालमा जन्मनुभएका शर्माले स्नातकसम्म अध्ययन गर्नुभएको छ । पहिले स्वतन्त्र रुपमा रहनुभएको शर्मा नयाँ शक्ति पार्टीको निर्माणपछि २०७० साल राजनीतिकमा क्रियाशिल बन्नुभएको हो । शर्मा हाल नयाँ शक्ति पार्टीको जिल्ला सहसंयोजक रहेर काम गरिरहुभएको छ । शर्मा बागलुङ बजारका सहकारीहरुको संचालक समिति पदमा रहि काम गरिरहनुभएको छ ।
शर्माले अबको निकास आर्थिक विकास भन्ने नारा सफल पार्ने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले स्वधिन र सम्वृद्धिको निर्माण गर्न आर्थिक विकास गर्नुपर्ने भन्दै चुनावी अभियानमा सक्रिय रुपमा लाग्नुभएको छ ।

बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र २का प्रत्यक्ष तर्फका उम्मेदवारहरु

प्रकाश शर्मा पौडेल
नेपाली काँग्रेस
बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र २ मा नेपाली काँग्रेसको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ प्रकाश शर्मा पौडेल । निर्वतमान सांसद समेत रहनुभएका पौडेलको जन्म वि.सं. २०१५ बैशाख १८ गते भएको हो । वि,कम सम्म अध्ययन गर्नुभएका पौडेलले वि.सं. २०३४ सालमा विद्यार्थी अवस्थादेखि नै राजनीतिकमा लाग्नुभएको हो । वि.सं. २०३७ सालमा पार्टीको सदस्यता प्राप्त गर्नुभएको पौडेलले २०४७ सालमा पार्टीको क्रियाशिल सदस्यता प्राप्त गर्नुभएको थियो । पौडेल २०३८ सालमा पैयूँपाटाको विद्यार्थी गाउँकार्य समितिको कोषाध्यक्ष बन्नुभएको थियो ।
२०४८ सालमा नेपाली काँग्रेस बागलुङको जिल्ला सदस्य हुनुभएको पौडेल २०५३ सालमा जिल्ला कोषाध्यक्ष, २०५८ सालमा पार्टी सचिवहुँदै २०६७ देखि २०७३ सम्म पार्टीको जिल्ला सभापति पदमा रही काम गर्नुभएको थियो । पौडेल २०४८ सालमा नेपाली काँग्रेस बागलुङको क्षेत्रीय कमिटि सदस्य हुँदै कोषाध्यक्ष सम्म हुनुभयो भने २०६१ सालदेखि हालसम्म पार्टीको महासमिति सदस्य र २०५३ देखि हालसम्म महाधिवेशन प्रतिनिधि बन्दै आउनुभएको छ । पौडेल २०५४ सालमा भएको स्थानिय निर्वाचनमा साविकको पैयुँपाटा गाविसको वडा नम्बर ३ को वडासदस्यमा विजयी हुनुभएको थियो ।
पार्टीका विभिन्न तहमा रहेर काम गर्नुभएको पौडेल संविधान सभाको दोस्रो निर्वाचन २०७० सालमा बागलुङ क्षेत्र नम्बर २ बाट सभासदमा निर्वाचित हुनुभएको थियो । पौडेलले राजनीतिक यात्रामा धेरैपटक जेलजिवन विताउनुभएको छ ।
पौडेल २०५० सालमा जिल्ला शिक्षा समिति सदस्य र २०५१ सालमा बलेवा पैयूँपाटा बहुमुखी क्याम्पसको अध्यक्ष बन्नुभएको थियो । पौडेल धेरै सामाजिक क्षेत्रमा बसेर काम गरिसक्नुभएको छ ।
पौडेलले आफु सांसद हुँदा बागलुङको विकासको लागि पूर्वाधारको क्षेत्रमा धेरै काम गरेको बताउँदै अब बागलुङको नारायणस्थानमा रहेको बेलवा विमानस्थलमा कालोपत्रे गरी संचालनमा ल्याउने, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका सवै वडालाई समेटने गरेर रिङरोड बनाउने योजनाहरु अगाडी सारेर चुनावी प्रचारप्रसार गरिरहनुभएको छ ।

कृष्ण थापा
राष्ट्रिय जनमोर्चा
बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र २ मा बाम गठबन्धनबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ कृष्ण थापा । राष्ट्रिय जनमोर्चामा आवद्ध रहेका थापाको जन्म वि.सं. २०१८ साल असार १ गते जैमुनी नगरपालिका वडा नम्बर–४, सर्कुवामा भएको हो ।
जनता माध्यामिक विद्यालय सर्कुवाबाट मा.वि. तह र रामपुर कृषि क्याम्पसबाट कृषि विज्ञानमा प्रमाण पत्र तहसम्म अध्ययन गर्नुभएका थापा २०३३ सालदेखि नै विद्यार्थी आन्दोलनमा सक्रीय हुनुभएको थियो । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन कै क्रममा कक्षा ९ मा पढ्दा पढ्दै र २०३८ सालको आन्दोलनमा गरी २ पटकसम्म जेल जीवन समेत बिताउनु परेको थियो ।
२०४१ सालमा आई.ए.सी.को पढाई सकेर पार्टीद्वारा सञ्चालित पोखरा र पाल्पाका कृषि र्फममा समेत रहेर काम गर्नु भएको उहाँ जनता मा.वि. सर्कुवा र विजुवा मा.वि. पैयुथन्थापमा ३ बर्ष शिक्षण पेशामा लागि शिक्षक आन्दोलनमा समेत सक्रीय रहनु भयो ।
थापा पञ्चायत विरुद्धको आन्दोलनलाई निरन्तरता दिने क्रममा राज्यद्वारा बढी निगरानी भएपछि शिक्षण पेशा छोडेर भुमिगत जीवन समेत बिताउनु भएको थियो । २०४६ सालको जनआन्दोनको क्रममा उहाँलाई गिरफ्तार गर्न नसके पछि पुलिसले उहाँको श्रीमति शान्ति पुन र ५ महिनाकी छोरी विहानी थापालाई घरबाट गिरफ्तार गरी १ महिना जेलमा राखेको थियो ।
अखिल नेपाल युवक संघ, बागलुङका संस्थापक अध्यक्ष थापा २०४६ सालको परिवर्तन पछि खुल्ला राजनीतिमा सक्रीय हुँदै २०५६ साल देखि २०६२ सालसम्म राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालयमा सचिवको भूमिकामा रहेर पार्टी र जनताको काममा सहयोग गर्नु भयो ।
थापाले २०६२ साल देखि २०६४ सालसम्म राष्ट्रिय जनमोर्चाको बागलुङ जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यको जिम्मेवारी समाल्नुभएको थियो ।
२०६२/०६३ सालको जनआन्दोलनका घाईते समेत रहनु भएको उहाँ निरंकुश शासनको विरुद्धको संघर्षमा जेलमा २०६२ सालमा जेलमा पनि पर्नु भयो । साहित्यमा समेत कलम चलाउने थापाको गाउँको विद्रोह नाटक प्रकाशन भएको छभने उहाँले अन्य कैयौं कविता र निबन्ध समेत लेख्नुभएको छ ।
थापा आफुले यो प्रदेशको आर्थिक समृद्धि र पूर्वधार विकासमा नीतिगत निर्णय गर्ने र व्यवहारिक रुपमा कार्यान्वयन गर्न लागि पर्ने प्रतिवद्धता राख्दै चुनावी प्रचारप्रसार गरिरहनुभएको छ ।

युनिस मियाँ
नयाँ शक्ति पार्टी नेपाल
बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र २ मा नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ युनिस मियाँ । विए सम्म अध्ययन गर्नुभएको मियाँको जन्म वि.सं. २०३८ साल साउन ५ गते भएको हो ।
वि.सं. २०५६ सालमा नेकपा माओवादीबाट राजनीतिक यात्रा सुरुवात गर्नुभएको मियाँ २०७० सालमा नयाँ शक्तिको स्थापनाकालदेखि पार्टीमा सक्रिय हुनुहुन्छ ।
नयाँ शक्तिको ४ नम्बर प्रदेश सदस्य जिल्ला सचिवालय सदस्य रहनुभएको मियाँले नयाँ शक्तिले लिएको आर्थिक समृद्धिको योजनालाइ अगाडी सारेर चुनावी प्रचार गरिरहनुभएको छ । उहाँले भ्रष्ट्रचारको अन्त्य र देश विकासको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो ।

क्षेत्र नम्बर २ को प्रदेशसभा १का उम्मेदवारहरुको नालीबेली
चन्द्र बहादुर बुढा (सागर)
नेकपा माओवादी केन्द्र
बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र १ मा संयुक्त बाम गठबन्धनको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ चन्द्र बहादुर बुढा । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा बागलुङ जिल्लाका सह–इञ्चार्ज समेत रहनुभएको बुढाको जन्म वि.सं. २०२५ साल साउन १९ गते ताराखोला गाउँपालिका–४ मा भएको थियो ।
विद्यार्थी जिवनबाट नै राजनीतिकमा सक्रिय बुढा तत्काली नेकपा माओवादीले संचालन गरेको जनयुद्धमा सहभागिता जनाउनुभएको थियो ।
गरिब, उत्पीडित क्षेत्र, वर्ग र परिवारमा जन्मिएको हुँदा हरपल अभाव र अन्यौलतालाई पार गर्दै अगाडि बढ्ने क्रममा २०३७ सालको जनमत संग्रह/शिक्षक आन्दोलनबाट प्रभावित हुँदै मावि तहमा अध्ययनरत हुँदा विद्यार्थी हक, हित र अधिकारको समेत आन्दोलनमा सहभागी हुँदै विद्यार्थी संगठनको जिल्ला समितिमा रही लामो समय योगदान गर्नुभएको बुढा २०४६/२०४७ को जनआन्दोलनमा विद्यार्थी संगठनमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै गर्दा २०४८ मा पार्टी सदस्यता प्राप्त गरि वैधानिक मोर्चा संयुक्त जनमोर्चा रही काम गर्नुभएको छ ।
बुढाले २०५० सालमा पार्टीको युवा संगठन वाइसियलमा संस्थापक सदस्य भई कार्य सम्पादन गर्नुका साथै २०५२ सालमा जनयुद्ध सुरु भए पश्चात विभिन्न योजनामा सहभागी भई भूमिका निर्वाह गर्नुभएको थियो । बुढाले आन्दोलनकै क्रममा २०५३ सालमा गिरफ्तारी र १ महिना हिरासतमा रहनुभएको थियो । २०५४ को सुरु देखि पूर्णकालिन भई छापामार टिममा सहभागी हुँदै लडाकु दस्ताबाट जनमुक्ती सेनाको अवधारणा अगाडि बढेपछि सांगठानिक काममा सक्रिय रहेका बुढा २०५७ सालमा बागलुङ, म्याग्दी, पर्वतको संयुक्त जिल्ला कमिटिमा आवद्धता रहनुभएको थियो ।
२०६० सालमा पार्टीको क्षेत्रीय ब्यूरो सदस्य बन्नुभएको बुढा २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ को उम्मेदवार बन्नुभएको र २०६४ पछि हालसम्म निरन्तर जिल्लाको विभिन्न नेतृत्वमा रहेको कार्य गरिरहनुभएको छ ।

मञ्जेशवम मल्ल
नेपाली काँग्रेस
बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र १ मा नेपाली काँग्रेसको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ मञ्जेशबम मल्ल । वि.सं. २०३४ साल असोज ७ गते जन्मेका मल्लले समाज शात्रमा स्नाकोत्तर गर्नुभएको छ ।
पारिवारिक राजनैतिक पृष्ठभुमिका मल्ल २०४७ सालदेखि राजनितिक यात्रामा लाग्नुभएको थियो ।
मल्ल २००७ सालमा मुक्ति आन्दोलनको नेतृत्व गर्दै शहिद बनेका थिरबम मल्लका नाती तथा तत्कालीन जनयुद्ध ताका शहिद बनेका माधव बम मल्लका छोरा हुन ।
मल्ल २०४७, ०४८ सालमा पृथ्वी माद्यामिक बिद्यालयमा नेपाल बिद्यार्थी संद्यको सदस्य, २०४८, ०४९ सालमा सचिव पदमा रहेर काम गर्नुभएको थियो ।
मल्ल २०५२ सालमा आर आर क्यापसमा नेबिसंद्यको ईकाइ सदस्य, २०५९ सालमा सचिव पदमा रहेर काम गर्नुभएको थियो । मल्ल २०६१ सालमा भएको स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा आर आर क्याम्पस सदस्य पदमा निर्वाचित हुनुभएको थियो । त्यस्तै २०६२ सालमा त्रिचन्द्र कलेजमा नेबिसंद्यको उपसभापति र नेपाली काग्रेसको १२ औ अधिबेसनबाट बागलुङ जिल्ला सदस्यमा निर्वाचित हुनुभएको थियो ।
मल्ल हाल सामाजिक कार्यमा सक्रिय सस्था शहिदथिर बम मल्ल मेमोरियल फाउण्डेसनका अध्यक्ष र धौलागिरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष हुनुहुन्छ ।
मल्लले आफ्नो इच्छा पुरा गर्न नभई गल्कोटको पर्यटन, कृषि, युवा रोजगार लगायतको विकास गर्नको लागि उम्मेदवारी दिएको बताउँदै चुनवी अभियानमा लाग्नुभएको छ ।

विर बहादुर दर्जी
संघिय समाजवादी फोरम नेपाल
बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र १ मा संघिय समाजवादी फोरम नेपालको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ विर बहादुर दर्जी । वि.सं. २०३८ साल पुस ६ गते जन्मेका दर्जीले कक्षा १२ सम्म अध्ययन गर्नुभएको छ ।
सानै उमेरदेखि राजनीतिक यात्रामा होमिनुभएका दर्जीको राजनीतिक यात्रा नेकपा मसालबाट सुरुवात भएको थियो । २०५२ सालमा नेकपा मसालको ग्रम समिति अध्यक्ष, २०५६ सालमा अखिल भारत नेपाली एकता समाज पन्जव सचिव र २०६६ सालमा कतार नेपाली एकता समाजको सचिव भएर काम गर्नुभएको थियो । दर्जी २०६९ सालमा राष्ट्रिय जनमोर्चाको जिल्ला बैकल्पिक सदस्य बन्नुभएको थियो ।
२०७० सालमा पार्टी परित्याग गरि दर्जी संघिय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । दर्जी संघिय समाजवादी फोरममा प्रवेश गरेपछि मगरात प्रदेश कमिटिको उपाध्यक्ष बन्नुभएको छ । दर्जी सिल्पी विशेष प्रदेश कमिटिको केन्द्रिय सदस्य समेत हुनुहुन्छ भने बडिगाड गाउँपालिका–९को जनता बाल विकासको अध्यक्ष समेत हुनुहुन्छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवारहरुको नालीबेली

टेक बहादुर घर्ती
राष्ट्रिय जनमोर्चा
बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र २ मा बाम गठबन्धनको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ टेक बहादुर घर्ती । राष्ट्रिय जनमोर्चामा आवद्ध रहेका घर्तीको जन्म वि.सं. २०२८ साल साउन ५ गते ढोरपाटन नगरपालिका वडा नं. ६, सहिखोलामा भएको हो ।
विद्यार्थी जिवनबाट नै राजनीतिक यात्रामा लाग्नुभएका घर्तीले भानु माध्यामिक विद्यालय ग्वालीचौरबाट मा.वि. तह २०४६ सालमा सम्पन्न गर्नुभएको थियो ।
२०६५ सालमा अखिल नेपाल युवक संघ, बागलुङको अध्यक्ष हुनुभएको थियो । २०६४ सालको संविधानसभाको निर्वाचनमा बागलुङ क्षेत्र नं. ३ बाट राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेद्वारबनी पराजित हुनुभएको थियो ।
घर्ती विद्यालय, जलविद्युत तथा बाटोघाटोको विकासमा समेत सक्रीय रहनु भएको छ । आफुले संविधानको प्रस्तावनामा उल्लेख भएको समाजवाद उन्मुख राज्य स्थापनाका लागि मुख्य जोड दिनुका साथै यो प्रदेशको आर्थिक समृद्धि र पूर्वधार विकासमा नीतिगत निर्णय गर्ने र व्यवहारिक रुपमा कार्यान्वयन गर्न लागि पर्ने प्रतिवद्धता राख्दै उम्मेदवारी दिएको बताउँदै घर्ति चुनावी अभियानमा सक्रिय हुनु हुन्छ ।

जित शेरचन
नेपाली काँग्रेस
बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र २ मा नेपाली काँग्रेसको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ जितबहादुर शेरचन । शेरचनको जन्म वि.सं. २०३७ साल असार २४ गते तमानखोला गाउँपालिका–२, शिल्गुममा भएको हो ।
राजनीतिशास्त्रमा स्नाकोत्तर गर्नुभएका शेरचनले २०५२ सालमा जनजागृति माध्यमिक विद्यालय बोंगादोभानको इकाई अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरुवात गर्नुभएको थियो । २०६२ सालमा भएको स्ववियु निर्वाचनमा महेन्द्ररत्न क्याम्पस काठमाडौंमा शेरचन स्ववियु सभापति पदमा निर्वाचित हुनुभएको थियो ।
२०६२/०६३ को जनआन्दोलनमा पटकपटक गिरफ्तारी पर्नुभएको शेरचन २०६७ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बन्नुभएको थियोभने २०६८ सालमा नेवि संघको केन्द्रिय सदस्य भई काम गर्नुभएको थियो । २०७२ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बन्नुभएका शेरचनले विभिन्न संघसंस्थामा आवद्ध रहि सामाजिक कार्यमा काम गरिरहनुभएको छ ।

यम कुमार पुन
संघिय समाजवादी फोरम नेपाल
बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र २ मा संघिय समाजवादी फोरम नेपालको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ यम कुमार पुन । पुनको जन्म वि.सं. २०४२ साल चैत्रमा भएको हो । पुनले एसएलसी पास गर्नुभएको छ । २०६४ सालदेखि राजनीतिक यात्रामा होमिनुभएका पुन संघिय समाजवादी फोरम नेपालमा बागलुङमा पार्टी गठनबाट नै सम्लग्न हुनुहुन्छ ।

टेक बहादुर कुँवर
नयाँ शक्ति पार्टी नेपाल
बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र २ मा नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ टेक बहादुर कुँवर । कुँवरको जन्म वि.सं. २०२४ साल पौष ५ गते भएको हो । कुँवरले वि.कम, वि.एड सम्म अध्ययन गर्नुभएको छ ।
२०४२ सालमा अखिल छैटौंबाट राजनीतिक यात्रा सुरुवात गर्नुभएको कुँवर २०५१ सालमा पाल्पा बहुमुखी क्याम्पसमा स्ववियु सचिवमा निर्वाचित हुनुभएको थियो ।
कुँवर २०५१ सालमा नेपाली काँग्रेस प्रवेश गरि क्षेत्रीय सदस्य र २०५१ द्येखि २०६३ सम्म बुर्तिबाङको ग्रम समिति सचिव पदमा रहेर काम गर्नुभएको थियो ।
कुँवर २०६४ सालमा नेपाली काँग्रेस परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरी क्षेत्रीय कमिटि सदस्य बन्नुभएको थियो । २०७२ सालमा नयाँ शक्ति पार्टीको घोषणा भएपछि कुँवरले माओवादी परित्याग गरी नयाँ शक्ति पार्टीमा प्रवेश गर्नुभएको थियो । कुँवर नयाँ शक्तिको जिल्ला सदस्य, सचिवालय सदस्य र प्रदेश कमिटि सदस्य पदमा रहि काम गरिरहनुभएको छ ।

दिल बहादुर वि.क.
आमुल परिवर्तन मसिहा पार्टी नेपाल
बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र २ मा आमुल परिवर्तन मसिहा पार्टी नेपालको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ दिल बहादुर वि.क. । विकको जन्म वि.सं. २०३३ साल साउना १६ गते भएको हो । कुँवरले कक्षा ८ पास गर्नुभएको छ ।
शस्ष्त्र द्वन्द्वकालदेखि १० वर्ष नेकपा माओवादीमा रहनुभएका वि.क. २०७१ सालमा माओवादीको जिल्ला सदस्य बन्नुभएको थियो । विक हाल आमुल परिवर्तन मसिहा पार्टी नेपालको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । विकले आफ्नो चुनावी एजेण्डाको रुपमा जातिय छुवाछुतको अन्त्य गर्न लड्ने, गरिवी निवारण गर्ने र ६० वर्षभन्दा माथिका सवै जातजातीका वृद्धवृद्धाहरुलाई सामाजिक सुक्षा भत्ता वितरण गर्ने लगायतका योजनाहरु राख्नुभएको छ ।