दलालीका दिन सकिएः जनमोर्चा अध्यक्ष केसी

बागलुङ, १३ कार्तिक
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतालाई देखाएर दलाली गर्ने दिन सकिएको बताउनुभएको छ । काठमाडौंमा बस्ने बागलुङवासीद्वारा गठित निर्वाचन सम्पर्क समन्वय समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता केसीले नेपाली जनतालाई देखाएर राजनीतिक दलहरुले विदेशीको दलाली गर्ने गरेको बताउनुभएको थियो ।
नेता केसीले नेपाली काँग्रेस विदेशी शक्तिको इसारामा चलेको दावी गर्दै मुलुक जोगाउनका लागि बामपन्थी पार्टीहरुबीच एक भएर चुनावी अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । चुनावमा बामपन्थीहरुबीच भएको एकताले देशी विदेशी शक्तिहरु त्रसिएको बताउँदै यो अवसर दलाली गर्नेहरुलाई हराउन केन्द्रीत भएको बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल मात्र नभएर चुनाव लगत्तै पार्टी एकता समेत हुने बताउनुभयो । अहिले सबै बाम एक ठाउ भएकाले बामपन्थी उमेदवारलाई निर्धक्क मतदान गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा एमाले नेता विजय गुरुङले बामपन्थी एकताले नेपाली काँग्रेसका नेताहरु छटपटिएको उल्लेख गर्दै बामपन्थीलाई बदनाम गराउँनेतर्फ लागेको आरोप लगाउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेता हिमाल शर्माले पनि बोल्नुभएको थियो ।
निर्वाचन सम्पर्क सम्वयन समितिका संयोजक चेतनारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत माओवादी केन्द्रका देवी शर्मा र सञ्चालन राष्ट्रिय जनमोर्चाका मिनबहादुर बुढाथोकीले गर्नुभएको थियो ।