
आगामि मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङका २ वटै निर्वाचन क्षेत्र नम्बरमा उम्मेदवारहरुको अन्तिम नावाली निर्वाचन कार्यालय बागलुङले प्रकाशित गरि सकेको छ । बागलुङका २ वटै निर्वाचन क्षेत्रमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागलुङमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले संयुक्त वाम गठबन्धनको घोषणा गरी उम्मेदवारी घोषणा गरेका छन्भने अन्य पार्टीहरुले एक्लाएक्लै उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र नम्बर १ मा संयुक्त बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका युवा नेता डा. सुर्य प्रसाद पाठक, नेपाली काँग्रेसबाट निर्वतमान सांसद एवं सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादवी खड्का, संघिय समाजवादी फोरमका महेन्द्र जिसी, राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राष्ट्रवादी)का सुमनजंग राजभण्डारी, नेकपा मालेका निर बहादुर क्षेत्री र नयाँ शक्ति पार्टी नेपालका कृष्णप्रसाद शर्मा चुनावी मैदानमा उत्रेका छन् । यस्तै क्षेत्र नम्बर २ मा संयुक्त बाम गठबन्धनको तर्फबाट नेता देबेन्द्र पौडेल, नेपाली काँग्रेसका तर्फबाट पुर्ब सांसद निरज पुन, संघिय समाजबादी फोरमका यामबहादुर घर्ती मगर, आमुल परिवर्तन मसिहा पार्टी नेपालका बाबुराम पाण्डे, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका निल बहादुर पुनले मनोनयन दर्ता गरेका छन् । यी सवै उम्मेदवारहरुको राजनीति यात्रा, पढाई, समाजसेवा, र अन्य कहाँ कहाँ के–के गरे त्यस सम्बन्धी हाम्रा सह–सम्पादक अर्जुन कार्कीले तयार पारेको उम्मेदवारहरुको नालीवेलीः
बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु
डा. सुर्य प्रसाद पाठक
नेकपा एमाले

बागलुङ क्षेत्र नम्बर १ मा संयुक्त बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाठक हाल ४२ वर्षका हुनुभयो । २०३२ पौष २२ गतेका दिन हालको बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौर (साविकको अमलाचौर गाविस)मा जन्मेका पाठकले विद्यावारिधि (पिएचडि) गर्नुभएको छ । पाठकले २०४५ सालमा अनेरास्ववियु पाचौको सदस्यता लिएर राजनीतिकको सुरुवात गरेका थिए । उहाँले अनेरास्ववियुको सदस्यता लिएको वर्ष नै राजाक प्रधको मुद्धाको अभियोग खेप्नुपरेको थियो । उहाँले मुद्धा परेता पनि आफ्नो राजनैतिक यात्रालाई नरोकि २०४६ सालको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्नुभएको थियो ।
२०४७ सालमा अनेरास्ववियुको जिल्ला सदस्य बनेका पाठक २०४८ सालमा सहसचिव बन्नुभएको थियो । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका पाठकले २०५१ सालमा एमालेको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । पाठक २०५४ सालमा अनेरास्ववियु त्रिचन्द्र क्याम्पसको प्रका अध्यक्ष, ०५५ सालमा अनेरास्ववियुको जिल्ला कमिटि सहसचिव, ०५६ सालमा अनेरास्ववियुबाट त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति पदमा चुनावमा उम्मेदवारी दिएका थिए ।
पाठक सन् २००० मा अध्ययनको लागि जापानमा गएता पनि राजनीतिक यात्रालाई भने अगाडी बढाई रहनुभएको थियो । उहाँले जापान गएपछि सन् २००० मा प्रवासी नेपाली मञ्च जापानको सदस्यता लिएपछि सन् २००५ मा प्रवासी नेपाली मञ्च जापानको उपसचिव हुँदै सन् २००७ देखि २०११ सम्म प्रवासी नेपाली मञ्च जापानको अध्यक्षको पदमा रहि काम गर्नुभएको थियो ।
पाठकले जापानमा पढाई सम्पन्न गरेपछि २०७२ सालको दोस्रो संविधानसभाको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट एमालेको उम्मेदवार बन्नुभएको थियो । पाठक हाल जिल्लाको राजनीतिमा युवाहरुको अगुवाई गर्दै आईरहनुभएको छ । पाठकलाई अहिले बलियो उम्मेदवारको रुपमा लिइएको छ ।
चम्पादेवी खड्का
नेपाली काँग्रेस

नेपाली काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दिनुभएको चम्पादेवी खड्कासहकारी तथा गरिवी निवारण राज्यमन्त्री तथा निर्वतमान सांसद समेत हुनुहुन्छ । बागलुङको प्रतिनिधिसभा सदस्य पदमा राज्यमन्त्री बनेकाहरु तथा महिलाबाट उम्मेदवारी दिनेमा एक मात्र खड्का हुनुहुन्छ ।
२०ं२१ साल असोज २८ गते जन्मनुभएकी खड्काले एसएलसी पास गर्नुभएको छ ।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट विजय भएका उहाँका पति हरि बहादुर खड्काको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएपछि २०७२ सालमा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारी बनी खड्का विजय हुनुभएको थियो ।
खड्काको राजनीतिक यात्रा २०४३ सालदेखि सुरुवात भएको थियो । उहाँ ०४३ सालदेखि काँग्रेसमा आवद्ध रहेता पनि २०४७ सालमा मात्र काँग्रेसको क्रियाशिल सदस्यता प्राप्त गर्नुभएको थियो । खड्का २०७३ सालमा भएको नेपाल महिला संघको महाधिवेशनमा प्रतिनिधि बन्नुभएको थियो । उहाँ हालसम्म काँग्रेसको संगठन विस्तार र पार्टीको लागि सक्रिय रुपमा लागिरहनुभएको छ । खड्का आमा मिलन केन्द्र सहकारी संस्था लिमिटेड बागलुङको शेयर सदस्य हुँदै अध्यक्षको जिम्मेवारीसमेत पुरा गर्नुभएको छ । यस अगाडी पनि क्षेत्र नम्बर १ मा विजयी बन्नुभएको खड्का अहिलेको निर्वाचनमा पनि बलियो दावेबारको रुपमा रहनुभएको छ ।
महेन्द्र जिसी
संघिय समाजवादी फोरम

बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका अर्को उम्मेदवार हुन संघिय समाजवादी फोरमका महेन्द्र जिसी । २०४३ साल कार्तिक २७ गते जन्मेका जिसीले १२ कक्षा पास गरेका छन् ।
नेकपा माओवादीबाट राजनीतिक यात्रा सुरुवात गर्नुभएको जिसी २०७० सालमा संघिय समाजवादी फोरममा प्रवेश गर्नुभएको हो ।
जिसी २०५५ सालमा अखिल क्रान्तिकारी इकाई समितिको सदस्य बन्नुभएको थियोभने २०५८ सालमा अखिल नेपाल प्रवासी महासंघको सदस्य बन्नुभयो । २०६० सालमा नेकपा माओवादीको एरिया कमिटि सदस्य हुँदै २०६३ सालमा अखिल नेपाल सांस्कृतिक महासंघ अन्तरगत धौलागिरी सांस्कृतिक परिवारको प्रदेश कमिटि सदस्य र २०६४ सालदेखि ०६८ सम्म कालिगण्डी सांस्कृतिक परिवारको बागलुङ जिल्ला संयोजक बन्नुभएको थियो ।
जिसीले २०७० सालमा नेकपा माओवादी पार्टी परित्याग गरि संघिय समाजवादी फोरममा आएपछि २०७० सालमै केन्द्रिय सदस्य बन्नुभएको थियो । सांस्कृतिक क्षेत्रमा विशेष रुचि राख्ने जिसी प्रगतिशिल फिल्म ‘कमरेड’को निर्माता तथा निर्देशक हुनुहुन्छभने दजनौं जनवादी गितहरुमा शब्द संकलनका साथै लय र स्वर दिनुभएको छ । जिसी हाल बलेवा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उपाध्यक्ष हुनुहुन्छ ।
सुमनजंग राजभण्डारी
राप्रपा (राष्ट्रवादी)

बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातान्त्रीक पार्टी राष्ट्रवादीबाट सुमनजंग राजभण्डारीले उम्मेदवारी दिएका छन् ।
व्यवसाय पृष्ठभुमिका राजभण्डारीको जन्म २०२५ साल जेष्ठमा भएको हो । एसएलसी पास गर्नुभएको राजभण्डारीले २०४६ सालमा राप्रपाको सदस्यता लिनुभएको हो । केन्द्र तहमा राप्रपाको विभाजनबाट राप्रपा राष्ट्रवादी बनेपछि राजभण्डारी पनि राष्ट्रवादी तर्फ लागेका थिए । राप्रपा राष्ट्रवादीको २०७४ बैशाख १ गतेको भेलाबाट राजभण्डारी जिल्ला कार्य समिति सदस्य रहँदै आउनुभएको छ ।
निर बहादुर क्षेत्री
नेकपा माले

बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा मालेका तर्फबाट निर बहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन् ।
२०२९ साल साउन ९ गते जन्मनुभएका क्षत्रीले वि.एड. सम्म अध्ययन गर्नुभएको छ । २०४६ सालमा अनेरास्ववियु पाचौंबाट राजनीतिक यात्रा सुरुवात गर्नुभएको क्षेत्री २०५८ सालमा जिल्ला सदस्य, २०६४ सालमा नेकपा माले बागलुङको पार्टी संयोजक बन्नुभएको थियो । २०६४ सालमा संविधान सभाको पहिला निर्वाचनमा पनि क्षेत्रीले नेकपा मालेको तर्फबाट बागलुङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनुभएको थियो । क्षेत्री हाल नेकपा मालेको केन्द्रिय सदस्य, प्रदेश नं. ४ को सदस्य र बागलुङ जिल्ला सचिव हुनुहुन्छ । क्षेत्री लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशिल रहनुभएको छ ।
कृष्णप्रसाद शर्मा
नयाँ शक्ति पार्टी नेपाल

बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टी नेपालको तर्फबाट कृष्ण प्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।
हालको बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौर (साविकको अमलाचौर गाविस)मा जन्मेका शर्माले राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरिसक्नुभएको छभने कानुनमा स्तातकोत्तर अध्ययनरत रहनुभएको छ ।
राष्ट्रिय जनमोर्चाको अनेरास्ववियू (छैठौं)बाट आफ्नो राजनीतिक यात्रा सुरुवात गर्नुभएको शर्माले नेकपा माओवादी हुँदै नयाँ शक्ति पार्टी नेपालमा संलग्न हुनुभएको हो ।
२०४३ सालमा विद्यार्थी संगठनमा आवद्धता रहेका शर्मा २०४८ सालमा अनेरास्ववियू (छैठौं) को जिल्ला सचिव, २०४९ मा अनेरास्ववियू (छैठौं)को जिल्ला अध्यक्ष, २०५० मा अनेरास्ववियू (छैठौं)को केन्द्रीय सदस्य, २०५४ मा अनेरास्ववियू (छैठौं)को केन्द्रीय उपाध्यक्ष, २०५७ मा अनेरास्ववियू (छैठौं)को केन्द्रीय महासचिव पदमा रहि काम गर्नुभएको थियो । शर्माले २०६२ मा अनेरास्ववियू (एकीकृत)को केन्द्रीय अध्यक्ष, २०६३ मा नेकपा (एकीकृत)को केन्द्रीय सदस्य, २०६६ मा एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य समेत बन्नुभएको थियो ।
बाबुराम भट्टराईले नेकपा माओवादीबाट छुट्टीएर नयाँ शक्ति पार्टी नेपालको गठन गरेपछि शर्मा पनि नयाँ शक्तिमा आवद्धता रहनुभएको थियो । शर्मा हाल नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय सचिवालय सदस्य रहनुभएको थियो ।
शर्मा २०४४ सालमा तात्कालिन पंचायती ब्यवस्थाको विरोध गर्दा राजकाज मुद्दा, २०४८/०४९ मा राष्ट्रीयताको पक्षमा आन्दोलन गर्दा ७ महिना जेल, २०६२/०६३ मा राजतंत्र विरोधी आन्दोलनमा सक्रिय, २ महिना प्रहरी हिरासत र बिभिन्न जनआन्दोलनहरूमा पटक पटक गिरफÞ्तार र प्रहरी हिरासतमा रहनुभएको थियो ।
बागलुङ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु
देवेन्द्र पौडेल
नेकपा माओवादी केन्द्र

बागलुङ क्षेत्र नम्बर २ मा संयुक्त बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका देवेन्द्र पौडेलको जन्म २०२१ पुस २८ गते बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा भएको हो ।
२०३७ सालमा नेकपा मसालबाट सक्रिय राजनीतिको सुरुवात गर्नुभएका पौडेल हाल नेकपा माओवादी केन्द्रको स्थायी समितिको कार्यालय सदस्यमा रहनुभएको छ ।
पौडेल अखिल क्रान्तिकारीको केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष, महासचिव हुँदै केन्द्रीय अध्यक्ष हुनुभएको थियो । पौडेलले नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको जनयुद्ध ताका बागलुङ जिल्ला इञ्चार्ज हुँदै गण्डकी उपब्यूरो इञ्चार्ज, लुम्बीनी ब्यूरो इञ्चार्ज, उपत्यकता ब्यूरो इञ्चार्ज, नारायणी ब्यूरो इञ्चार्ज आदि जिम्वेबारीहरु सम्हाल्नुभएको थियो ।
पौडेलले पञ्चायती व्यवस्था विरुद्ध संघर्ष गर्दा झण्डै तीन वर्ष जेल जीवन र दर्जनौं पटक हिरासतमा पर्नुभएको थियोभने विभिन्न आन्दोलन मुख्यतः माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
यूरोपका विभिन्न देशहरु, अष्ट्रेलिया, जापान, कोरिया, सिंगापुर, मलेशिया, चीन, इण्डोनेशिया, बंगलादेश, भारत, थाईलैण्ड, दुवै, कतार लगाएतका देशहरुमा विकासहरुको अध्ययन भ्रमण गर्नुभएको छभने प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको महत्वपूर्ण जिम्वेबारी सम्हाल्दै उपत्यकामा बाटो विस्तार, राष्ट्रिय गौरवका योजनाहरु जस्तै मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करिडोर, अन्तराष्ट्रिय विमानस्थल निर्माण, युवा स्वरोजगार कार्यक्रम आदि कार्यहरुमा पौडेलले सक्रिय योगदान दिनुभएको छ ।
पौडेलले पछिल्लो वामपन्थी गठबन्धन निर्माणमा केन्द्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ । यस्तै केन्द्रीय स्कुलिङ्ग विभाग सदस्य हुँदै नेपाली परिवर्तनकारी आन्दोलन र विचारको पक्षमा झण्डै १ दर्जन पुरस्क प्रकाशित गर्नुभएको छभने विकास निर्माणसँग जन साहित्यमा रुची राख्ने गर्नुभएको छ । पौडेलले नाफाको बाँकी जीवन पनि देश र जनताप्रति समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पौडेललाई क्षेत्र नम्बर २ मा बलियो दाबेदारको रुपमा हेरिएको छ ।
नर बहादुर पुन
नेपाली काँग्रेस

बागलुङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नर बहादुर थापाको जन्म २०१५ साल माघ २९ गते भएको हो ।
२०४७ सालदेखि राजनीतिक यात्रा सुरुवात गर्नुभएका पुनले स्नतक तहसम्म अध्ययन गर्नुभएको छ ।
पुनले २०४९ देखि २०५२ सम्म नेपाली काँग्रेसको क्षेत्रीय कमिटीमा रहेर काम गर्नुभएको छ । २०५३ सालमा पार्टीको क्रियाशिल सदस्यता प्राप्त गर्नुभएको पुनले २०५३ देखि २०६८ सम्म जिल्ला कार्यसमिति सदस्यमा ३ कार्यकाल काम गर्नुभएको थियो ।
पुन पार्टीको नवौं महाधिवेशनदेखि १३ र्औं महाधिवेशनसम्म प्रतिनिधि बन्नुभएको थियोभने २०४९देखि २०५१ सम्म शिक्षक संघको केन्द्रिय प्रतिनिधि बन्नुभएको थियो । २०५८ देखि २०६७ सालसम्म नेपाली काँग्रेसको भातृ संगठन, नेपाल आदीवासी जनजाति संघको केन्द्रिय समितिको संस्थापक सचिव रहनुभएको थियो ।
पुन २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर ३ बाट सभासदमा निर्वाचित हुनुभएको थियो ।
२०४५ सालदेखि २०५९ सालसम्म पाण्डवखानी उच्च माध्यमिक विद्यालयको संस्थापक तथा प्रधानाध्यापकको रुपमा रहनुभएका पुन शिक्षा क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । पुनलाई २ नम्बर क्षेत्रमा मुख्य दावेदारको रुपमा हेरिएको छ ।
याम बहादुर घर्ति मगर
संघिय समाजवादी फोरम

बागलुङ क्षेत्र नम्बर २ मा संघिय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका याम बहादुर घर्ति मगरको जन्म २०३३ साल माघ २९ गते भएको थियो । घर्तिले अध्ययनमा आईए पास गरेका छन् ।
घर्तिले २०४८ सालमा अखिल क्रान्तिकारीको क्षेत्रीय सदस्य हुँदै आफ्नो राजनीतिक यात्रा सुरुवात गर्नुभएको थियो । २०५१ सालमा सृजनसांस्कृतिक परिवारको संस्थापक रहनुभएका घर्ति जिल्ला संयोजक रहनुभएको थियो ।
२०५३ सालमा नेकपा माओवादीको सदस्यता प्राप्त गर्नुभएको थियो । घर्तिले २०६४ देखि २०६८ सम्म नेकपा मालेको जिल्ला सहसचिव समेत रहेर काम गर्नुभएको थियो ।
२०६९ चैत ३ गते बागलुङमा संघिय समाजवादी फोरमको जिल्ला घोषणा तयारी समिति संयोजकमा घर्ति रहनुभएको थियो । घर्ति २०७० सालमा संघिय समाजवादी फोरमको जिल्ला अध्यक्ष बन्नुभएको थियो । घर्ति मगर २०७२ सालदेखि संघिय समाजवादी फोरम नेपालको केन्द्रिय सदस्य र मगरात प्रदेश समितिको संयोजक हुनुहुन्छ ।
बागलुङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका आमुल परिवर्तन मसिहा पार्टी नेपालका बाबुराम पाण्डे, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका निल बहादुर पुनको सम्पर्क हुन नसकेपछि विवरण सार्वजनिक गर्न सकिएको छैन ।










