
बागलुङ, १२ कार्तिक
नेपालमा पटक पटक अपहरित हुँदै आएको लोकतन्त्र रक्षा अब बामपन्थीहरुले मात्र गर्न सक्ने बामपन्थी नेताहरुले बताएका छन् । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन लक्षित अभियानमा लागेका नेताहरुले कहिले राणाले, कहिले राजाले र कहिले काँग्रेसले लोकतन्त्रमाथी धावा बालेको भन्दै लोकतन्त्र रक्षाका लागि बामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन् ।
चुनावी कार्यक्रम अनुसार बागलुङ क्षेत्र नम्बर एक र प्रदेश क्षेत्र नम्बर दुईको संयुक्त कार्यक्रम बागलुङको सुखौरामा सम्पन्न भएको छ । सुखौरामा सम्पन्न कार्यक्रममा प्रतिनिधीसभातर्फका एमाले उमेदवार डाक्टर सूर्य पाठकले बामपन्थीलाई लोकतन्त्र विरोधी देखाउँनका लागि देशी विदेशी शक्तिहरु लागिपरेको बताउनुभयो । बामपन्थी एकताको पक्षमा जनता लहर देखेरै बामपन्थी दलहरुलाई लोकतन्त्र विरोधी सावित गर्न लागिपरेको बताउनुभयो ।
पाठकले अघिल्लो पटक जिल्लाका तिन वटै क्षेत्र नेपाली कांग्रेसले जित्दा विकास गर्नुको साटो झनै अपारदर्शी कार्य भएको, विकासका नाममा आएका बजेटमा अनियमितता भएको, संसद विकास कोषको बजेट समेत सही सदुपयोग नभएकोमा आक्रोस व्यक्त गर्नुभयो ।
यस्तै क्षेत्र नम्बर दुईका उमेदवार माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल सुनिलले बाम गठबन्धनको विजयी सुनिश्चित भएकाले अब कुनैपनि शक्तिले रोक्न नसक्ने बताउनु भएको छ । यस क्षेत्रको विकाशलाई राज्यको पहुचसम्म पु¥याउन बाम गठबन्धनलाई जिताउनुको विकल्प नभएको उहाँले बताउनुभयो । ढोरपाटन नगरपालिका वडा नम्बर पाँच सहीखोलामा आयोजित चुनाब प्रचार–प्रसार कार्यक्रममा बोल्दै पौडेलले बाम गठबन्धनको विजयी अभियान सुरु भइसकेकाले जित सुनिश्चीत भएको बताउँदै बागलुङ जिल्लाका २ ओटा प्रतिनिधि र ४ ओटा प्रदेश सहित सबै सिट बामपन्थी गठबन्धनले जित्नेमा कुनै संका नभएको बताउनुभएको छ ।
पौडेलले बामपन्थीहरुको गठबन्धनलाई चुनावी एकता मात्रै नभएर एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्धेश्यका साथ गठबन्धन अगाडि बढेको बताउनुभएको छ । पौडेलले आफु निर्वाचित भए यस क्षेत्र र समग्र बाग्लुङको विकास र समृद्धिलाई अगाडि बढाउन आफु सधै लागी पर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।
प्रदेश नं. २ ख का साझा उमेदबार टेकबहादुर घर्तीले आफू सधैभरि यस क्षेत्रका जनतासंग हातेमालो गरेर अगाडि बढ्ने बताउँदै समग्र विकासका लागि क्षेत्र र जिल्लालाई समृद्ध बनाउन प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ ।
कार्यक्रममा नेकपा एमाले नेता एवं अखिल नेपाल किसान महासंघ स्थायी समति सदस्य मोहनलाल शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तुल्सीराम अर्याल, राष्ट्रिय जनमोर्चाका नेता एवं जिल्ला अध्यक्ष अमर थापा, चुुनाब परिचालन समितिका संयोजक एवं राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म बहादुर कुँवर लगायतले बोल्नु भएको थियो ।
यस्तै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्मिलित क्षेत्र नं. २ अन्तरगतको प्रदेश नं. २ मा संयुत्त बाम गठबन्धनको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ ।
भेलाले निर्वाचनलाई सफल पार्न राष्ट्रिय जनमोर्चाका नेता धर्मबहादुर कुवँरको संयोजकत्वमा ३३ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा रहेका बामपार्टिहरु, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समर्थक कार्यकर्ताहरुको भेलाले उक्त समिति निर्माण गरेको हो ।
उक्त समितिले हरेक गाउँपालिका तथा नगर पालिकामा नगर तथा गाउँपालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने र गाउँपालिका तथा नगरपालिकाले वडा स्तरीय र साविकको वडालाई मध्यनजर गरि टोल स्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने भेलाले निर्णय समेत गरेको छ ।
यसैबीच सबै निर्वाचन परिचालन समितिमा स्थानीय स्तरमा रहेका तीनवटै बामपार्टिका कार्यकर्ता, समर्थक तथा नेता सम्मीलित हुने गरि समिति बनाउने निर्णय भएको प्रदेश स्तरीय निर्वाचन परिचालन समितिका संयोजक धर्मबहादुर कुवँरले बताउनुभयो । उक्त निर्वाचन परिचालन समितिसँगै प्रचार प्रसार समिति र आर्थिक समिति समेत स्थानीय स्तरसम्म परिचालन हुने छ ।
यस्तै संयुक्त बाम गठबन्धनले बुर्तिबाङमा प्रदेश स्तरीय सम्पर्क कार्यालय स्थापना गरिएको छ । प्रदेश नं. २ निर्वाचन परिचालन समितिका संयोजक धर्मबहादुर कुवँरका अध्यक्षता तथा बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ का तर्फबाट प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्पर्क कार्यालय उदघाटन गर्दै नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य तथा क्षेत्र नं. २ का प्रत्यासी उमेदवार पौडेलले, जिल्लाको निर्वाचन क्षेत्र नं. २ को विकास निर्माणमा आफूले अबको समय दिने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
निर्वाचन क्षेत्र न. १ (ख) प्रदेश सभाकाउमेदवार कृष्ण थापाले हरेक कठिन परिस्थितिमा बामपन्थिहरु नै जनताको माझमा रहेकाले जनताले पूर्ण विश्वासका साथ बामपन्थी उमेदवारलाई विजयी गराउने विश्वास व्यक्तगर्नुभयो । नेपालको इतिहासमा सबै भन्दै धेरै पटक शासनसत्तामा रहेर कांग्रेसले देशलाई खोक्रो बनाएको आरोप लगाउँदै थापाले त्यस्ता संगठनका उमेदवारले पुनःजनता सामु जाने र मतमाग्ने नैतिकतानभएको समेत उहाँको भनाई थियोे ।
कार्यक्रममा पुर्व सांसद मिना पुन, नेकपा एमाले बागलुङका पुर्व अध्यक्ष श्रीप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चिनिमाया काला, प्रदिप थापा मगर लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा २१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ । समितिको संयोजकमा टिकाराम शर्मा, र सह–संयोजकमा इन्द्रबहादुर खत्री रहनु भएको छ । साथै अखिल नेपाल महिला संघ क्रान्तिकारीले पनि १७ सदस्यीय चुनावप्रचार प्रसार समिति गठन गरेको छ ।
यस्तै बागलुङ क्षेत्र नम्बर एकको प्रदेश क्षेत्र नम्बर एकको तित्याङका विभिन्न ठाउँमा कोणसभाहरु सम्पन्न भएका छन् । प्रदेशसभा एकका एमाले उमेदवार इन्द्रलाल सापकोटाले राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा काम गर्नकै लागि बामपन्थी पार्टीहरु एक भएर अगाडि बढेको दावी गर्नुभयो । मुलुकका बामपन्थी जनमत फरक फरक पार्टीमा विभाजन हुँदा परिवर्तन संस्थागत गर्न नसकिएकाले परिवर्तन संस्थागत गर्नका लागि बाम एकता आवश्यक रहेको बताउनुभएको थिो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका यज्ञबल्लभ शर्मा, राष्ट्रिय जनमोर्चाका तिलक थापा, एमाले सचिव लालबहादुर थापा, सचिवालय सदस्य गणेश थापा मगर लगायतले बोल्नुभएको थियो । प्रदेश नम्बर एकका सूर्य चिन्हका उमेदवार इन्द्रलाल सापकोटालाई जिताउन एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता सम्मिलित टोलीले तित्याङका गैराफाँट, आरनमुनी, ठुलाढुङ्गा, भुजाकाटे, डिडाँडा, सिमलपाटा लगायतका ठाउँमा कोणसभा सम्पन्न गरेको थियो ।
यस्तै बागलुङ क्षेत्र नम्बर दुईको प्रदेश नम्बर एकको हटियामा संयुक्त चुनावी भेला सम्पन्न भएको छ । बाम गठबन्धनका प्रदेशतर्फका माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर बुढा सागरलाई विजयी गराउँनका लागि नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्र भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एवं ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बाम एकताले देशको समृद्धि हुने भन्दै बामपन्थीको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका इन्चार्ज फमलाल निउरे, एमाले जिल्ला कमिटि सदस्य बुलबहादुर केसी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष बेदिलाल सापकोटाले बाम शक्तिबीच हिजोका दिनमा भएका मतभेदलाई त्याग्दै चुनावमा एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उनीहरुले बामपन्थी शक्तिबीचको एकता मुलुकलाई समृद्धि दिनेतर्फ केन्द्रीत हुने दावी गरेका थिए ।
भेलामा प्रदेशसभा निर्वाचन समन्वय समितिका ज्ञामनाथ गैरे अनिलले बाम गठबन्धनको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । भेलाले तिलक उप्रेती संयोजक रहेको पाँच सदस्यीय सचिवालय गठन गरेको छ । जसको सदस्यमा राष्ट्रिय जनमोर्चाका नेता टंक केसी, एमाले नेता बुलबहादुर केसी, खिम सहानी र डम्बर श्रीस रहनुभएको छ ।
यसैबीच, बागलुङ क्षेत्र नम्बर एकको बागलुङ बजारमा संयुक्त महिला संगठनहरुले घरदैलो अभियान सम्पन्न गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट महिला संगठनकले संयुक्त रुपमा बामपन्थी उम्मेदवारलाई विजयी गराउँन आग्रह गर्दै घरदैलो अभियान सम्पन्न गरेका हुन् ।










