बाम उमेदवारलाई जिताउँन अमलाचौरमा तीन दलीय भेला

बागलुङ, ११ कार्तिक
बामपन्थी नेतृत्वको स्थिर सरकार बिना मुलुकको समृद्धि असम्भव रहेको भन्दै बागलुङको अमलाचौरमा क्रियाशिल तीन दलहरु एक भएर चुनाव प्रचार प्रसारमा लागेका छन् । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा क्रियाशिल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त भेलाले राष्ट्रिय जनमोर्चाका घनश्याम बिक संयोजक, माओवादी केन्द्रका भोजराज पाध्या सहसंयोजक र एमालेका झलक आचार्य सचिव रहेको ३०१ सदस्यीय बामपन्थी उमेदवार जिताउन निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।
तीन दलीय भेलामा बोल्नै नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य गोविन्द बहादुर नेपालीले नेपालका विभन्न राजनीतिक परिवर्तनहरु संस्थागत हुन नसक्दा मुलुकले ठूलो दुर्गती भोग्नु परेको भन्दै मुलुक समृद्धिको अभिभारा बामपन्थी गठबन्धनले पुरा गर्ने दावी गर्नुभयो । नेपालमा धेरै सरकारहरु परिवर्तन हुँदा अस्थिरता सिर्जना गर्ने शक्ति हावी भएको उल्लेख गर्दै नेपालीका बाम पार्टीहरुको एकताले अबका दिनमा स्थायी सरकार बनाएर अगाडि बढ्ने वातावरण सिर्जना भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कुमार बिक्रम क्षेत्रीयले दुई–दुई पटक बहुमतको सरकार बनाउने अवसर पाएको नेपाली काँग्रेसले मुलुकलाई कसरी समृद्ध बनाउँने भन्नेतिर ध्यान नदिएको उल्लेख गर्दै नेपाली काँग्रेसलाई मत दिनु मुलुकलाई अझै केही वर्ष अस्थिरतातर्फ लैजानु भएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता तिलक थापा मगरले अबको सरकार बामपन्थी नेतृत्वमा बन्ने दावी गर्दै बाम एकताले देशी, विदेशी प्रतिक्रियावादीहरुको टाउको दुखेको बताउनुभयो । कार्यक्रममा एमाले नेता धनबहादुर परियार, माओवादी केन्द्रका टिका बिक, बुद्धिजिवी दुमनाथ शर्मा, शिक्षक संगठनका उपाध्यक्ष हरिराम अधिकारी लगायतले बोल्नुभएको थियो । राष्ट्रिय जनमोर्चाका घनश्याम बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत माओवादी केन्द्रका भोजराज शर्मा र सञ्चालन एमालेका खेमकुमारी राना आचार्यले गर्नुभएको थियो ।
यस्तै बापपन्थी उम्मेदवारका पक्षमा मतदातालाई शिक्षित गर्नका लागि अमलाचौरका शिक्षकहरुले मतदाता शिक्षा अभियान सञ्चालन गर्ने भएका छन् । मतदातालाई शिक्षा दिनका लागि बुद्धि चपाई अध्यक्ष, तारा शर्मा र कमल शर्मा सहअध्यक्ष र कमल ढकाल सचिव रहेको २९ सदस्यीय मतदाता शिक्षा परिचालन कमिटि गठन गरिएको नेपाल शिक्षक संगठनका उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो ।