
बागलुङ, ११ कार्तिक
नेपाली काँग्रेस नगर समिति बागलुङले निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सदस्य निर्वाचनमा नेपाली काँग्रेसको चुनावी अभियानलाई तीव्र बनाउन नगर सभापति महेन्द्र आचार्यको संयोजकत्वमा एक सय एक सदस्यीय समिति बनाईएको काँग्रेसले जनाएको छ । नगर समितिको बैठकले नगरपालिका भित्रका सबै वडा सभापतिको संयोजकत्वमा चुनाव प्रचार प्रसार तथा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले बागलुङमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउनका लागि भातृ तथा सुभेच्छुक संस्थालाई समेत परिचालन गरी काँग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गर्ने निर्णय भएको नेपाली काँग्रेस नगर सभापति महेन्द्र आचार्यले बताए । निर्वाचन परिचालन अभियानलाई तीब्रता दिन नेपाली काँग्रेस गल्कोट नगरपालिकाले पनि समिति बनाएको छ ।
नगर सभापति नारायणध्वज मल्लको संयोजकत्वमा एक हजार एक सदस्यीय समिति बनाईएको हो । नगरभेलाले गार्खबहादुर भण्डारीको संयोजकत्वमा युवा परिचालन, दानबहादुर बोहोराको संयोजकत्वमा भूपू सैनिक परिचालन, गुमानसिंह भण्डारीको संयोजकत्वमा युवा विद्यार्थी परिचालन, हरि चालिसेको संयोजत्वमा शिक्षक परिचालन समिति बनाएको छ ।
निर्वाचन परिचालन अभियानलाई व्यवस्थीत बनाउनका लागि १७ सदस्यीय कार्यसम्पादन समिति समेत बनाएको नेपाली काँग्रेस गल्कोटले जनाएको छ । नारायणध्वज मल्लको संयोजकत्वमा रहेको समितिमा जिल्ला सदस्य फमबहादुर खत्री, रामप्रसाद कँडेल, यम श्रीस, मञ्जु चालिसे, देबेन्द्र खत्री लगायत गल्कोट क्षेत्रबाट उम्मेदवार आकाँक्षी देखिएका पार्टीका जिल्ला स्तरीय नेताहरु सदस्य रहेको बताईएको छ ।










