
बागलुङ, ८ कार्तिक
आसन्न मंसिर १० गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बागलुङमा बाम गठबन्धनका उम्मेदवारी विरुद्ध वागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनको लागि बागलुङमा नेकपा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त बाम गठबन्धन बनाएर चुनावमा गएतापनि पार्टीले उम्मेदवारी छनोटमा कमजोरी गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले आज (बुधबार) उम्मेदवारी फिर्ता गरेका छन् ।
बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका गंग थापा, पूर्णबहादुर पौडेल क्षेत्री र क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका धनबहादुर वि.क. ‘बाबुराम’ र प्रदेशसभा (ख)मा उम्मेदवारी दर्ता गराएका दधिराम शर्माले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचनको कार्यालय बागलुङले जनाएको छ ।
पार्टीसँगको छलफल र जिल्लामा बाम गठबन्धनलाई बहुमतले जिताउने निर्णय अनुसार उम्मेदवारी फिर्ता गरेको स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रय जनमोर्चाका युवा नेता गंग थापाले जनाए ।
उम्मेदवारी फिर्ता गर्नको लागि बुधबार दिउँसो ३ बजेसम्मको समय रहेको छ ।










