प्रतिनिधि तथा प्रदेश सभामा बागलुङबाट ३ स्वतन्त्र सहित ३१ जनाको उम्मेदवारी (नामावली सहित)

बागलुङ, ५ कार्तिक
आगामी मंसिर १० गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि बागलुङ जिल्लामा ८ राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमाले, नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाले बामपन्थी गठबन्धन गरि संयुक्त रूपमा उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस, संघिय समाजवादी पार्टी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), नयाँ शक्ति पार्टी लगायतले भने एकल रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै गंग थापा

बागलुङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा बाम गठवन्धनबाट एमालेका डा.डाक्टर सुर्य पाठक, नेपाली कांग्रेसबाट सहकारी तथा गरिबी निबारण राज्य मन्त्री चम्पादेबी खड्का, संघिय समाजबादी फोरमका महेन्द्र जिसी, राप्रपा राष्ट्रबादीका सुमनजङ्ग राजभण्डारी, नेकपा मालेका निर बहादुर क्षेत्री र नयाँ शक्ति पार्टी नेपालका कृष्णप्रसाद शर्माले उम्मेदवार दर्ता गराएका छन् । गंग थापा र पुर्णबहादुर पौडेल क्षत्रीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रको प्रदेश सभा (क) मा बाम गठवन्धनबाट नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, संघिय समाजबादी फोरमका बद्रीकुमार श्रेष्ठ र राप्रपा राष्ट्रबादीका जयलाल सापकोटा र नयाँ शक्ति पार्टी नेपालका कृष्ण शर्माले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश (ख)बाट बाम गठवन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा, नेपाली कांग्रेसका निवर्तमान सांसद प्रकाश शर्मा पौडेल र नयाँ शक्ति पार्टी नेपालका युनिसले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा बाम गठवन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका नेता देबेन्द्र पौडेल ‘सुनिल’, नेपाली काँग्रेसका तर्फबाट पुर्ब सांसद निरज पुन, संघिय समाजबादी फोरमका यामबहादुर घर्ती मगर, आमुल परिवर्तन मसिहा पार्टी नेपालका बाबुराम पाण्डे, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका निल बहादुर पुन र धनबहादुर बिक ‘हिमाल’ले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका बिक नेकपा माओवादी केन्द्रका नेता हुन् । क्षेत्रमा थुप्रै सम्भाव्य र योग्य नेता हुँदाहुँदै केन्द्रले जर्बजस्त अर्कै क्षेत्रका उम्मेदवारलाई पठाएकाले आँफुले उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।


यस क्षेत्रको प्रदेश सभा (क) मा बाम गठवन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका चन्द्र बहादुर बुढा ‘सागर’, नेपाली कांग्रेसका मञ्जेशबम मल्ल र संघिय समाजबादी फोरमका वीर बहादुर दर्जीले उम्मेदवारी दिएका छन् ।
प्रदेश (ख) बाट बाम गठवन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती, नेपाली कांग्रेसका जीत शेरचन, संघिय समाजबादी फोरमका यमकुमार पुन, नयाँ शक्ति पार्टी नेपालका टेक बहादुर कुँवर, आमुल परिवर्तन मसिहा पार्टी नेपालका दिलबहादुर वि.क. र दधिराम शर्माले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए । स्वतन्त्र उम्मेदवारी दिएका शर्मा नेकपा माओवादी केन्द्रबाट स्थानीय तह निर्वाचन अघि मात्र एमाले प्रवेश गरेका थिए । उनी प्रदेश सदस्य निर्वाचनका लागि क्षेत्रबाट सर्वसम्मत सिफारिस भए पनि अन्तिम समयमा बामगठवन्धन गर्दा साविकको क्षेत्र नम्बर ३ लाई संघ र प्रदेश दुवै निर्वाचनमा पूरै बेवास्ता गरेकाले उम्मेदवारी दिएको शर्माले बताउनुभयो ।
बामपन्थी गठबन्धन गरेका नेकपा एमाले, माओबादी केन्द्र राष्ट्रिय जनमोर्चा नारा जुलुस सहित एक साथ पुगेका थिए भने नेपाली कांग्रेसले बाजा गाजा सहित सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । उम्मेदवारी दर्ता पछि बाम गठवन्धन र नेपाली कांग्रेसले छुट्टाछुट्टै सभाको आयोजना गरेका थिए । सभालाई सम्बोधन गर्दै नेता तथा उम्मेदवारहरुले आफ्नो गठवन्धन र पार्टीको जित हुने दावी गरेका थिए ।
मंसिर १० मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङका १ लाख ६७ हजार दुई सय ८२ मतदाता मतदानमा सहभागी हुँदैछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा ८६ हजार ७ सय ५६ र क्षेत्र नम्बर २ मा ८० हजार ५ सय २६ जना मतदाता छन् ।
क्षेत्र नम्बर १ को (क) मा ४५ हजार ४ सय २८, (ख) मा ४१ हजार ३ सय २८ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ को (क) मा ४७ हजार दुई सय ८६ र (ख) मा ३३ हजार दुई सय ४० मतदाता रहेका छन् ।