आज उम्मेदवारी दर्तामा बागलुङका राजनैतिक दलले शक्ति प्रदर्शन गर्ने

बागलुङ, ५ कार्तिक
आगामि मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको लागि आज (आईबार) उम्मेदवारी दर्ता हुँदैछ ।
मनोनयन दर्ताका लागि आज विहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आज मनोनयन दर्ताका दिन बागलुङका राजनीतिक दलहरुले आ–आफ्नो शक्ति प्रदर्शन गर्ने भएका छन् ।
बागलुङमा ३ बाम राजनीतिक दलहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गर्दैछन् भने नेपाली काँग्रेसले केन्द्रमा भएको नयाँ शक्ति र राप्रपासँगको सहमतिका अनुसार संयुक्त रुपमा नै उम्मेदवारी दर्ता गर्न लागेको छ ।
बागलुङमा नेकपा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको चुनावी एकता पछि बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा एमालेका युवा नेता सुर्य पाठक, प्रदेशसभा (क)मा नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष इन्द्रलाल सापकोटा र (ख)मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले उम्मेदवारी दिनेभएका छन् ।
यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि एनेकपा माओवादीका देवेन्द्र पौडेल, प्रदेशसभा (क)मा एनेकपा माओवादीका जिल्ला सेक्रेटेरी चन्द्र बहादुर बुढा सागर र (ख)मा राष्ट्रिय जनमोर्चाका टेक बहादुर घर्तिले उम्मेदवारी दिने निर्णय भएको छ ।
यस्तै नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा निर्वतमान सांसद एवं सहकारी तथा गरिवि निवारण राज्य मन्त्री चम्पादेवी खड्का, प्रदेशसभा सदस्य (क)मा जिल्ला पार्टी सभापति दिपेन्द्रबहादुर थापा र (ख)मा निर्वतमान सांसद प्रकाश पौडेलले उम्मेदवारी दिने काँग्रेसले निर्णय गरेको छ । यस्तै क्षेत्र नम्बर २ बाट प्रतितिनिसभा सदस्यमा नरबहादुर पुन र प्रदेशसभा सदस्य (क)मा मञ्जेशबम मल्ल र (ख)मा जितेन्द्रबहादुर शेरचनले उम्मेदवारी दिने काँग्रेसले जनाएको छ ।
बागलुङका राजनीतिक दलहरुले बाजागाजा सहित विशाल ¥यालीका साथ उम्मेदवारी दर्ता गर्ने जनाएका छन् ।