एमाले बागलुङले सिफारिस गर्‍यो प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार

बागलुङ, १९ असोज
नेकपा एमाले बागलुङले आगमि मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारहरुको नामावली केन्द्रमा पठाउने निर्णय गरेको छ । नेकपा एमाले जिल्ला कमिटि बागलुङको बिहीबार बसेको बैंठकले क्षेत्र नम्बर १ को प्रदेश नं. १ र २ बाट इन्द्रलाल सापकोटा, हिरा बहादुर केसी, श्रीप्रसाद शर्मा र सुर्य पाठकलाई प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिफारिस गर्ने निर्णय गरेको सचिव लाल बहादुर थापाले खबरवेलाई जानकारी दिनुभयो ।
जिल्लामा कुन उम्मेदवारलाई प्रदेश तथा प्रतिनिधि सभामा उम्मेदवारी बनाउने भन्ने निर्णय हुन नसकेपछि केन्द्रले नै उम्मेदवार टुङ्गयाउने गरि पठाएको सचिव थापाले बताउनुभयो ।
यस्तै एमालेले क्षेत्र नम्बर २ बाट मोहनलाल शर्मालाई सर्वसम्म प्रतिनिधि सभामा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै प्रदेश नम्बर ३ मा पनि सर्वसम्मत हुन नसकेपछि चार जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । प्रदेश नम्बर ३ बाट प्रेम खरेल, याम बहादुर श्रीस, तिर्थमणि भुषाल र रत्ना भण्डारीको नाम पठाउने निर्णय गरेको नेकपा एमाले बागलुङले जानकारी दियो ।
यस्तै बागलुङको प्रदेश नम्बर ४ बाट बडिराम अर्याल शर्मालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले बागलुङका सचिव थापाले जानकारी दिनुभयो ।
एमाले बागलुङलाई उम्मेदवारी छनोटमा क्षेत्र नम्बर २ मा कुनै बाधा अड्चन नआएपनि क्षेत्र नम्बर १ को उम्मेदवारी छनोटमा पार्टीका केही नेताहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
प्रतिनिधि तथा प्रदेश सभाको लागि उम्मेदवार बन्ने निवेदन दिएका उम्मेदवारहरुले निवेदकहरुसँग कुनै छलफल नै नगरि पार्टीको नेतृत्वले एकलौटी ढंगले उम्मेदवारी सिफारिस गरेको भन्दै आफुहरु उम्मेदवारी छनौटमा असन्तुष्टी रहेको खबरवेसँगको कुराकानीमा बताएका छन् । क्षेत्र नम्बर १ को प्रदेश तथा प्रतिनिधि सभाको लागि रामकृष्ण शर्मा, डिल बहादुर कार्की र कुमार खड्काले उम्मेदवारी बन्नको लागि निवेदन पेश गरेका थिए ।
उम्मेदवारी सिफारिसमा पार्टीपंत्तिले एकलौटी ढंगले नभई जिल्ला कमिटिको बैठकमा छलफल गरेर उम्मेदवारी छनोट गरिएको र कुनै पनि निवेदकहरुले असन्तुष्टी व्यक्त गरेको आफुहरुलाई थाहा नभएको सचिव थापाले बताउनुभयो ।

समानुपातिमा गन्जागोल, उम्मेदवार टुंग्याउन ३ सदस्य समिति गठन
प्रदेश तथा प्रतिनिधि सभाको लागि उम्मेदवार छनोट गर्न गाह्रो नपरेपनि समानुपातिकमा भने नेकपा एमाले बागलुङलाई उम्मेदवार टुंग्याउनको लागि समिति नै गठन गर्नुपरेको छ ।


बागलुङबाट प्रतिनिधि सभाको लागि समानुपातिकमा ७ जनाको र प्रदेश सभामा २२ जनाको निवेदन परेपछि एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक, बागलुङ नगरपालिकका मेयर तथा पार्टीका पूर्व अध्यक्ष जनकराज पौडेल र पार्टीका वर्तमान उपसचिव तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुषाललाई उम्मेदवार छनोट गर्न जिम्मा दिईएको छ ।
प्रतिनिधि सभाको समानुपातिकको लागि मन कुमारी केसी, लाल बहादुर थापा, हरिनारायण गौतम, सुनिल शेरचन, तिल बहादुर वि.क., ममतादेवी शर्मा र ढक प्रसाद शर्माले निवेदन पेश गरेका छन् ।
यस्तै प्रदेश सभाको समानुपातिकको लागि गोविन्द नेपाली, धन बहादुर परियार, गिता शर्मा, सावित्रा राना, हुमाकुमारी जिसी अञ्जु, देवि के.सी. लगायत २२ जनाले निवेदन पेश गरेको सचिव थापाले जानकारी दिनुभयो ।
समानुपातिक उम्मेदवार छनौट समितिले भोली (शुक्रबार)सम्म उम्मेदवारहरुको छनोट गरि सक्ने एमाले बागलुङले जनाएको छ ।