कागबेनीमा बस दुर्घटना अपडेट : गाडी चालक सहित तीनजना मृतकको पहिचान खुल्यो

राकेश शर्मा
मुस्ताङ, १७ असोज
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मँगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।
मुक्तिनाथ दर्शन गरि फर्कदै गरेको ग १ ख ५५२९ नम्बरको बस बे्रक फेल भई दुर्घटना हुँदा विराटनगर–८का गणेश सुवेदी, सवारीचालक बागलुङका खेमबहादुर बुढामगर र किर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमै ज्यान गएको मुस्ताङका प्रहरी नायब उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, दुर्घटनामा घाईते २० जना मध्ये ६ जनाको अवस्था गम्भिर देखिएको छ ।
‘घाईते सबैको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । गम्भिर भएकाहरुलाई भौगोलिक अवस्थाका कारण तत्काल अन्यत्र पठाउनसक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘बुधबार बिहान मात्रै रिफरको काम हुन्छ ।’ दशंै बिदा मनाउन मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि आएका तीर्थयात्रीहरु घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक अर्जुनबहादुर ढकालका अनुसार बस बे्रक फेल हुँदा दुर्घटना भएको हो । सोही स्थानमा दुई महिना अघि दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो । ‘यसभन्दा अघि दुर्घटना भएको ठाउँमै दुर्घटना भएको छ । घाइतेहरु विभिन्न जिल्लाका छन्’, उहाँले भन्नुभयो ।
घाइतेका आफन्तजनले तत्काल सुविधासम्पन्न अस्पतालमा रिफर गर्न आग्रह गरेपनि जीर्ण बेनी–जोमसोम सडक र रातको समयमा हवाई उडान संभव नभएका कारण जिल्ला अस्पतालमै राखेर उपचार गर्नुपरेको प्रहरीले जनाएको छ ।