मुस्ताङमा बस दुर्घटना, ३ जनाको मृत्यु

मुस्ताङ, १७ असोज
हिमाली जिल्ला मुस्ताङमा मंगलबार साँझ बस दुर्घटना भएको छ । मुक्तिनाथबाट जोमसोम तर्फ आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक रामहरि पाण्डेले बताउनुभयो । ‘घाईतेको अस्पतालमा उपचार भइरहेको छ, घटनास्थलमा प्रहरीले खोजी गरिरहेको छ’ पाण्डेले भन्नुभयो ।
उहाँका अनुसार १८ जना सवार रहेको बताइएपनि प्रहरीले थप अनुसन्धान गरिरहेको बताउनुभयो । मृतकको नाम पहिचान हुन सकेको छैन् । खचाखच यात्रु लिएर जोमसोम तर्फ आइरहेको बस दुर्घटना भएलगत्तै प्रहरी र मुस्ताङ घुम्न गएकाहरु उद्धारमा खटिएका थिए ।
गत बैशाखमा समेत सोही स्थानमा बस दुर्घटना भएको थियो । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएपनि नाम र विवरण खुल्न सकेको छैन् । दशैं विदामा घुम्न गएका यात्रुहरु दुर्घटनामा परेका थिए । दशैंको दोस्रो दिन देखी मुस्ताङमा निजी तथा भाडाका सवारीसाधनमा यात्रा गर्नेहरुको चाप लागेको छ । कालोपत्रे सडकमा तिब्र गतिमा गुडेको बसको दुर्घटनाको प्रारम्भीक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा समेत प्रहरी परिचालन गरिएको छ।