
बागलुङ, ३ असोज ।
नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय प्रशिक्षण विभाग संयोजक डम्बर खतिवडाले देशमा भनिएको लोकतन्त्र बृद्धा भत्ताको नाराले चलिरहेको बताउनुभएको छ ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको जिल्ला बैठक प्रशिक्षण कार्यक्रम तथा प्रथम बागलुङ नगर अधिवेशनको अवसरमा बोल्दै नेता खतिवडाले यस्तो बताउनुभएको हो ।
अहिले देशका लाखौ युवाहरु कुनै पनि राजनैतिक दलको ठोस एजेण्डा नहुँदा बैदेशिक रोजगारीको शिलशिलामा बाहिरिनुपरेको भन्दै युवाहरुको पक्षमा सबैले बोल्न आवश्यक रहेको बताउनुभयो । नयाँ शक्ति पार्टीले विदेशमा रहेका नेपालीहरुलाई समानुपातिक भोट हाल्न दिनुपर्छ भन्ने एजेण्डा राखेको तर ठुला दलहरुल नमानेको उहाँको भनाई थियो ।
नेता खतिवडाले हाम्रो देशको अर्थतन्त्र नेपाल हुँदै अन्य देश तिर बगेको भन्दै नेपाल अहिले उत्पादन मुखी नभएर उपभोग मुखी देशको रुपमा स्थापित हुनेमा जोडदिनुभएको थियो । कार्यक्रममा नयाँ शक्ति नेपालका प्रदेश नं. ४ का ईन्चार्ज देवन्द्र पराजुलीले नयाँ शक्ति एउटा सानो दल भएता पनि यसको विचार र सिद्धान्त ठुलो रहेको बताउनुभएको थियो ।
कार्यक्रममा नयाँ शक्ति पार्टी विद्यार्थी युनियनका केन्द्रिय महासचिव नेत्र चापागाई, लगायतले बोल्नुभएको थियो । सोही अवसरमा अर्जुन खत्रीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ शक्ति पार्टी नेपाल बागलुङ नगरपालिकाको नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सिमा थापा, सचिवमा कृष्ण प्रसाद शर्मा सहसचिवमा ढाकाराम परियार र कोषाध्यक्षमा महेन्द्र शर्मा सापकोटा रहेका छन । समितिमा २ जना उपाध्यक्ष र २ जना सहसचिव पछाडि मनोनित गर्ने संयोजक चित्र सापकोटाले जानकारीदिनुभयो ।
अधिवेशन पछि बोल्दै बागलुङ नगरका अध्यक्ष अर्जुन खत्रीले अबको नयाँ शक्ति पार्टीको संगठनलाई आफुले मजबुत बनाएर अगाडि बढाउने बताउनुभएको थियो । कार्यक्रम नयाँ शक्ति पार्टि नेपालका जिल्ला संयोजक चित्र सापकोटाको अध्यक्षता, विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष तारा शर्माको स्वागत र कृष्ण सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।










