कालो रंग

मलाई बडो मनपर्छ,
आँखाभित्रको उज्यालो संसार
जो मेरा टम्म भएका जोडी आँखामा झलमल्ल उदाउँछन्
र त,
पटकपटक विना निन्द्रा निदाईदिन्छु
विना सपना हराईदिन्छु
खुला आँखाले थुप्रै अमानवता देखेदेखि नै हो,
मैले कालो रंगमा निश्छलता भेटेको
कालो रंगमा आफूलाई जानेको
र,
मनैदेखि कालो रंग मनपराएको
उता,
कालो बादलले मसिना रेशमी वर्षा गराएदेखि
सेतो पानामा कालो मसीले रहर ओकलेदेखि
अनि,
अनि कालो रातमा उज्याला तिम्रा यादहरु,
ताराहरुको टिम्टिम् चमकमा चम्किएदेखि
मेरा भोका र नुनिला रहरले मलाई सताएदेखि
त्यही गाडा कालो रातमा,
मेरो कालो मलमल् सिरानीले मलाई पछ्याएदेखि
र,
तिम्रो,
हल्का,
त्यस्तै वर्ण देखेदेखि,
मैले कालोपन मन पराएको
मैले कालो रंग मन पराएको

विद्या शर्मा
काठमाडौं