
धर्ती थर्थर गर्छ काँप्छ मुटुमा पर्छन् चिरा छिन्छिन
सारा फूलहरू वसन्त ऋतुमै वैलेर झर्छन् किन ?
छाती पट्पट फुट्छ बग्छ खुनको खोलो सुसाई किन ?
लड्छन् भाइ र भाइ युद्ध घरमा रुन्छिन् मतारी किन ?
गोठालो वनबाट साँझ घरमा आएन फर्की यहाँ
बस्ती शून्य भयो गयौ प्रियतमा छाडी मलाई कहाँ ?
रात्तै छन् बटुका गिलास किन हो ? रात्तै छ पानी पनि
रक्ताम्मे फरिया छ छैन बहिनी धारा पँधेरामुनि
को हुन् ती किन हाँस्तछन् ? असुर झैं, पाषाण जस्तो बनी
को चित्कार गरेर रुन्छ वनमा ? पानी पिलाओ भनी
हे यात्री अब राख्नु सामल कहाँ ? थाकेर यात्रा बढ्यो
चौतारी पनि छैन त्यो वर ढल्यो चैते छहारी ढल्यो
छाडी देश विदेश पस्छ जनता,के यन्त्र हुन् यी तन ?
दैलो खोल्छु विहान लिप्छ खुनले कस्ले यहाँ आगन ?
उल्टो बग्छ नदी र पस्छ घरमा त्यो नाच्छ भै पागल
बस्ती लान्छ बगाउँदै पर कहीँ यी नेत्र थप्छन् जल
बाँध्यौ दाँत बन्यौ कठोर दिलकी छाती चिर्यौ धर्धर
हे आमा किन हाँस्तिनौ ? किन पुछ्यौ ? त्यो माथको सिन्दुर
रोए झैं अनुहार छन् कुसुमका सुन्सान बाटो छ यो
भेटिन्नन् किन हो युवा र युवती,यो देशमा के भयो ?
@काशिराम बजगाई
लम्की,कैलाली ।










