पर्यटकको पर्खाइमा ठुलिपोखरी

प्रकाश विद्रोही
पर्बत जिल्लाको मध्य पुर्बी भेगमा अवस्थित सुन्दर गाउँ हो ठुलीपोखरी। साबिकको गाउँ बिकास समिति र हालको कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरी प्रकृतिक, संस्कृतिक तथा राजनितिक महत्त्वका हिसाबले विशेष ठाँउ मनिन्छ।यहाँ ठुलो पोखरी भएकै कारण यो ठाँउको नाम ठुलीपोखरी रहन गएको हो। यो ठाँउको भौगोलिक अवस्थिती हेर्ने हो भने पुर्बमा कुनपा १३ खौला लाँकुरी र फलेवास नगरपालिकाको थापाठाना, पश्चिममा कुनपा ११ पकुवा,उत्तरमा खौला लाँकुरी र दक्षिणमा कुनपा १० पिपलटारी सँग सिमाना जोडिएको छ।

सदरमुकाम कुस्मा बाट करिब दुई घण्टाको पैदल यात्रा अथवा डेढ घण्टा बसमा यत्रा गरे पछि ठुलीपोखरी पुग्न सकिन्छ।बाम राजनितिको प्रभावमा रहेको ठुलीपोखरी पन्चायतकालमा महिलाले हलो जोतेको कान्डले पनि चर्चित ठाँउ हो। यो माटोले धेरै इन्जिनियर,डाक्टर,शिक्षक, पत्रकार, निजामती कर्मचारी र राजनितिक दलका नेता कार्यकर्ता जन्मायो। तर यस्ता विशिष्ट ब्यक्ति जन्माउने थलोले आफू समृद्ध बन्ने प्रसस्त आधार र संभावना हुँदा हुँदै पनि समृद्धीको बाटोमा डोर्‍याउने कुशल नेतृत्व कहिल्यै पाएन।गत बैशाख ३१ मा सम्पन्न स्थानीय निकायको निर्वाचन पश्चात लामो समय पछि ठुलीपोखरीले एउटा नेतृत्व पाएको छ। अबको पाँच बर्षमा यो नेतृत्वले गाउँ लाई कस्तो बनाउछ हेर्न बाँकी नै छ।ठुलीपोखरीको समृद्धिका प्रमुख आधारहरु मध्ये पर्यटन पनि एक बन्न सक्छ।पर्यटकिय संम्भावना भएका स्थलहरुको ब्यवस्थापन र प्रचारप्रसार गर्न सके यहाँ पर्यटनको प्रचुर संम्भावना रहेको छ।पर्यटन बिकासको योजना बन्न नसक्दा रमणीय स्थलहरु ओझेलमा परेका छन्।
बाटुलेचौर कालिका मन्दिर:
पबित्र धार्मिक स्थल बटुलेचौर कलिका मन्दिर समुन्द्री सतह बाट १६५५ मिटरको उचाईमा रहेकोे छ।त्रेता युगमा राजा दशरथले बन बिहार गर्ने क्रममा बाँण लागेर आफ्ना भन्जा श्रवण कुमारको मृत्यु भए पछि उक्त पाप मोचन गर्न बाटुलेचौरमा अश्वमेध महायज्ञ लगाएको किम्बदन्ती छ।मन्दिरको पुर्ब तर्फ ज्ञानद ऋषिले बाण रोपि पानी निकालेर यज्ञ सम्पन्न गरेको र सोही ठाँउ बाट मल्यङ्दी खोलाको उत्पत्ती भएको पनि मन्यता रहेकोे छ। यहाँ पर्बत,स्यङ्जा र बाग्लुङका विभिन्न ठाँउ बाट दर्शनार्थीहरु आउने गर्दछन्। शनि त्रियादशीमा यहाँ रहेका १०८ पिपलको दर्शन गरे ग्रह शान्ती हुने धार्मिक बिश्वास रहेको छ। यहाँ पहिला पहिला तिज र चैते दशैमा ठुलो मेला लाग्ने गरे पनि अहिले ब्यबस्थापनको अभावमा मेला लाग्न सकेको छैन।बाटुलेचौर मन्दिरको मर्मत सम्भार गरि प्रचारप्रसार गर्न सके यो जिल्लाका प्रमुख पर्यटकिय गन्तव्य मध्यको एक बनाउन सकिन्छ।तर यता तिर कसैको ध्यान गएको पाइदैन। संम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ।

ऐतिहासिक पोखरी:
१८ औं शताब्दीको मध्य तिर स्थानिय महिला चन्द्र बदना पौडेलले निर्माण गरेको ठुलो पोखरी भएकै कारण यो ठाँउको नाम ठुलीपोखरी रहन गएको हो। पोखरीको लम्बाई ५१.५ मिटर, चौडाइ ३६ मिटर र गहिराई १.५ मिटर रहेको छ। बर्षा याममा पोखरीमा प्रशस्त पानी हुँदा पोखरी आकर्षक देखिन्छ।नजिकै पानीको मुहान खोजेर वा अन्यत्र बाट लिफ्ट सिस्टम बाट पानी तानेर हिउँदमा पनि पोखरिमा पानीको ब्यबस्था गरि साना आकारका केही डुङ्गाहरु सन्चालन गर्न सके यो पर्बत कै नमुना पर्यटकिय स्थल बन्नेमा कुनै शंका छैन।डुङ्गा सन्चालनको परिक्षण स्थानीय युवाहरूले केही बर्ष पहिला नै गरिसकेका छन्।

सुइते र राम्चेको डाँडा:
ठुलीपोखरिको केन्द्र भाग पोखरी रहेको ठाँउ बाट करिब डेढ किलोमिटर पश्चिम दिसामा एउटा सुन्दर ठाँउ छ।जसको नाम हो सुइतेको डाँडा।सुइतेको डाँडा बाट दुई सय मिटर उत्तर तर्फ अर्को ठाँउ छ जसको नाम हो राम्चेको डाँडा।यी दुई डाँडा बीचको भुभाग इलामको कन्याम सँग मिल्दो जुल्दो छ।यहाँ बाट ८ हजार मिटर भन्दा अग्ला २ वटा हिमशृङ्खलाहरु अन्नपूर्ण र धौलागिरी सथै मछापुछ्रे, निलगिरी लगायत एक दर्जन हिमशृङ्खलाहरुको दृश्याबलोकन गर्न सकिन्छ। दृश्याबलोकनका हिसाबले यो ठाँउ अत्यन्तै महत्त्वपूर्ण छ।यो ठाँउमा आबस्यक पुर्वाधार निर्माण गर्ने हो भने यहाँ सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ।

रोहोटे गाउँ:
राम्चेको डाँडाको फेदीमा रहेको सुन्दर गाउँ हो रोहोटे।प्राय सबै घर ढुङ्गाले छाएका र घरको भित्ता सेतो कमेरोले र रातो माटोले पोतिएको दृस्य बस्तबमै मनमोहक छ।साबिकको ठुलीपोखरी गाबिस वाड नं ८ रोहोटे अलिकति ब्यबस्थित र यहाँका बासिन्दा लाई जागरुक बनाउन सके ठुलीपोखरिको पर्यटनले फड्को मर्नेमा दुई मत नै छैन।यहाँ होमस्टे निर्माण गर्न सके ठुलीपोखरीको पर्यटन प्रबर्द्धनमा टेवा पुग्छ।करिब ५० घर धुरी रोहोटेका सम्पुर्ण बासिन्दा पौडेल थरका छन् यो पनि यहाँको विशेषता हो।ब्राह्मण समुदाय भएकाले पुरोहित पेशा अंगालेका मान्छे हरुको संख्या पनि उल्लेख्य मात्रामा छ।जसलाइ धर्म,संस्कृती र लोपोन्मुख भजन चुड्काको बरेमा पनि राम्रै ज्ञान छ।गुरुङ समुदायमा पर्यटक आकर्षित गर्न रोधी गए जस्तै यहाँ पनि भजन चुड्काले पर्यटक लोभ्याउन सकिन्छ।

पदमार्ग निर्माण:
पर्बतमा रहेका तीन वटा अग्ला र लामा झोलुङ्गे पुलहरु नेपाल भरी नै चर्चित छन्।यहाँ उल्लेख्य मत्रामा पर्यटकहरु घुम्न आउछन्।ठुलीपोखरीको उत्तर दिसामा पर्बत स्याङ्जा र कास्कीको सिमानामा पर्ने प्रसिद्ध पन्चासे धाम पर्दछ। जहाँ सुर्योदय र दृयावलोकनका लागि अर्कै बाटो भएर दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउछन्।कुकुश्मा बाट पान्चासे र पन्चासे बाट कुश्मा जाने सहज बाटो छैन। यो अवस्थामा कुस्मा साइकलचोक ठुलीपिखरी आर्थर डाँडाखर्क हुँदै पन्चासे जाने पदमार्ग निर्माण गर्न सकियो भने यो पदमार्ग ठुलीपोखरिको समृद्धिका लागि कोसेढुङ्गा साबित हुनेछ।पहिला ठुलीपोखरी हुँदै पन्चासे जाने पदमार्ग नभएको भने होईन।बिबिध कारण देखाएर यो पदमार्ग बन्द गरिएको हो।