
काठमाडौं, २९ भदौ
एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपालललाई ६८ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्लब अमनमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८.३ ओभरमा ६७ रनमा अलआउट भयो । सिंगापुरको इनिङ ध्वस्त पार्न नेपालका लागि पवन शर्राफले उत्कृष्ट बलिङ गरे । पवनले ६ विकेट हात पारे । यस्तै किशोर महतोले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
पवनले ८ ओभरमा ४ मेडन राखेर १२ रन खर्चिए । किशोरले ५ ओभरमा १ मेडन फ्याँक्दा १४ रन दिए। सिंगापुरका लागि सिद्धान्त र सुनील उचिलले समान २०-२० रनको योगदान गरे ।
दुवै टोली लगातार २ जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। खेलको नतिजाबाट समूह विजेताको टुंगो लाग्नेछ ।
दुई महिनाअघि भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र सिंगापुरबीच दुई पटक प्रतिस्पर्धा भएको थियो । दुवै पटक नेपालले जित हात पारेको थियो ।
बुधबार भुटानलाई ९ विकेटले हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।










