सुपथ मुल्यको पसल नारा र व्यवहार

राजेशचन्द्र राजभण्डारी
दशै आयो खाउला पिउला कसरी ल्याउला चोरी ल्याउला भन्ने उखान आजकल सुन्न पनि गाह्रो छ । अहिले सबै मान्छेसंग धन सम्पत्ति भएको कारणले पनि होला अहिले यो पुरानो उखान सुन्न नपरेको पनि अहिले । नेपालीहरूको महान चाड बिजया दशमी तथा दिपावली नजिकै आएर पनि होला नेपाल सरकारले राजधानी देखि देशको सदरमुकामहरूमा सुपथ मुल्यको पसल खोलेर केही केजी चिनी केही केजी नुन सहुलियत दरमा दिएको प्रचारप्रसार ठूलो तामझामका साथ गरिरहेको छ ।
यसलाई सकारात्मक रूपमा हेर्ने हो भने नेपाली जनताले नुन र चिनी भएपनि चाडपर्वको नाममा दुई चार रूपैयाँ भएपनि सस्तो पाए यसलाई सरकारले गरेको सकारात्मक काम मान्नुपर्छ । यतिबेला साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड मार्फत नुन ३ केजी र ६ केजी चिनी ५ सय १९ रूपैयाँमा एउटा परिवारलाई लाइनमा राखेर धमाधम दिन शुरू गरेको छ ।
अहिले बागलुङ सदरमुकाम देखि देशभरिकै अबस्था नुन र चिनीको लाइनमा बस्ने छ । अहिले बजार मुल्य भन्दा केही सहुलियत भएको कारणले पनि सुपथ मुल्यको पसलमा बिहान देखि नै लाइन लाग्ने गरेको देखिन्छ ।
अहिले राजधानीका ठूला पसलमा अनुगमनलाई सरकारले तिब्र पारेको छ । फेन्सी देखि सबै खालको पसलमा आम उपभोक्ता चर्को ठगीमा परेका छन् । हजारौं देखि लाख सम्म खुलेआम ठगी गरिरहेका ब्यबसायीले अनुगमनमा जाने सरकारी प्रतिनिधिलाई सहयोग नगर्ने सरकार बिरूद्व नारा जुलुस गर्ने अनौठो शैली अपनाउने गरेको देखियो । अनुगमनको क्रममा राजधानीका पसलमा रिबककै ७ हजार ६ सय १५ रुपैयाँमा खरिद गरिएको क्रस फिट जुत्ता १६ हजार ४ सय ९० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो । कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार २० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गर्न पाइँदैन । तर, ब्रान्डेडका नाममा उच्च नाफा राखी सर्वसाधारणउपर ठगी भइरहेको छ । सरकारले प्रत्येक बर्ष दशै तिहारलाई लक्षित गरेर बजार अनुगमन गर्छ बिशाल बजार, न्युरोड, दरबार मार्ग लगायतका ठाउँमा यस्तो उपभोक्ता ठग्ने सयौं पसल र ब्यापारी भेटिन्छन् । सचिवदेखि मन्त्री सम्मले ठगी गर्ने ब्यापारीलाई कानुन अनुसार कार्बाही गर्ने भाषण गर्छन् तर पछि ब्यबहारिकता हेरेर त्यो कुरा त्यहीँ हराउछ ।
अहिले सरकारले सस्तो पसलमा उपभोक्तालाई नुन, तेल, चिनी सस्तो मुल्यमा दिएको प्रचारप्रसार गर्न ब्यस्त छन् । तर बजारमा अन्य सामान बिक्रीमा उपभोक्ता ठगिने हैनन् लुटिएका छन् तर पनि उपभोक्ता चुपचाप बसिरहेका छन् सरकार मौन छ । सायद खुला अर्थ बजार भनेको यहीँ होला भनेर चित्त बुझाउने भन्दा आम उपभोक्तासंग अरू केही उपाय छैन ।
ब्रान्डेड सामानको हवाला दिएर राजधानीमा चलिरहेको लुटको ब्यापारले सर्बसाधारण देखि उच्च घरना समेत त्यसबाट सिकार बनिरहेका छन् । लुट्ने पनि एउटा सिमा हुन्छ, हद हुन्छ जसलाई सहज मान्न सकियोस् । साच्चै अघिपछि हामीले देश नेताले लुटे, मन्त्रीले भ्रष्टाचार गरे भन्ने कुरा खुब चर्चा गर्छाैं । लुट्ने ठाउँ भए सम्म लुट्न कसैले पनि छाडेका छैनन् जसले जहाँ जति लुट्न सक्छन् त्यहा उस्ले लुटिरहेको छन् । सरकार तमासे भन्दा केही हुनसकेको छैन । उपभोक्ता मञ्चले आवाज उठाउने मात्रै भएको छ आम उपभोक्ता दिनहुँ राजधानीका पसलमा लुटिरहँदा ।
सरकारका मन्त्रीलाई जनता माझ लोकप्रिय देखिनलाई दुई चारवटा सुपथ मुल्यको पसल खोल्यो दशै तिहार चाडपर्वमा नुन र चिनी २ रूपैयाँ सस्तोमा बेच्न लगाए जिम्मेवारी पूरा भै हाल्यो । अहिले सरकारले खोलेको सुपथ मुल्यको पसलको यहाँ बिरोध गर्न खोजेको हैन सरकारले जुन नुन, तेलमा ध्यान दिएको छ त्यसै गरि आम उपभोक्ताले खरिद गर्ने सामानमा पनि ध्यानाकर्षण हुनुपर्छ भन्ने मात्रै हो । देशमा महंगी दिन प्रतिदिन बढेको छ । अहिले चाडपर्व पनि सबै हुने खानेका लागि मात्रै भएको छ हुँदा खानेको बारेमा कसैलाई न त चासो छ न त चिन्ता नै जसरी भए पनि चाडपर्व नमनाइ भएन जनचेतनामूलक नारा भए पनि त्यसको कुनै अर्थ रहेको देखिदैन ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायले चाडपर्वलाई लक्षित गरेर उपभोग्य सामानको मुल्य सामायोजन पनि गर्छ तर त्यो पनि प्रभाबकारी हुन सकेको भने देखिदैन मासु पसलमा कुखुरा, खसी, बोका, रागोको मासुको मूल्य लेखेर राखिएको हुन्छ तर त्यो पसलमा गुणस्तरीय मासु बिक्री गरिदैन । च्याङ्ग्राको टाउको देखाएर भेडाको मासु बेच्ने काम गरिरहेका हुन्छन् । मासुमा पानी मिसाएर बेच्ने त मामुली कुरा भयो आम उपभोक्ता दिनहुँ प्रत्येक पलपलमा ठगीका छन् । साच्चै हाम्रो कानुन नियम सबै फितलो भएको कारणले पनि होला सबै ठाउँमा अराजकता बढेको पनि अहिले सबैलाई दिन दुई गुणा, रात चौगुणा धनी बन्नु परेको छ । जसरी हुन्छ पैसा कमाउने मानसिकता भएको कारणले पनि समाज बिकृति तर्फ गैरहेको छ । पैसा नभए सम्म केही पनि हुँदैन पैसा भए जे जस्तो सुकै काम पनि मिलिहाल्छ भन्ने कुराले पनि यहाँ बिकास गरेको देखिन्छ ।
सरकारले नियम कानुन अनुसार जसले गल्ती कमिकमजोरी गर्छ उसलाई कानुनी कार्बाही गर्ने हो अहिले त्यो कुरामा सरकार चुकेको कारणले पनि जतिसुकै अनुगमन गर्दा पनि सुधार हुनसकेको देखिदैन । समस्या कहाँनेर छ ? भन्ने कुरालाई बुझ्न सकेमात्र समाधान निकाल्न सकिन्छ एकातिर आँधी अर्कोतिर झोलुङ्गो भने झै भए पछि जतिसुकै कुरा गरे पनि समाधान हुनेवाला छैन ।
राजधानीका ब्यापारीहरूले सरकार बिरूद्व नारा लगाए लुट्न पाउनु पर्छ भनेर अहिले जसले जहाँ जे गर्न मनलाग्यो त्यहीँ गर्ने भए पछि नियम कानुन सबै फितलो भएको छ । सरकारले नेपाली जनतालाई साच्चिकै राहत दिने हो भने भएको नियम कानुनलाई पालना गराउन सके पुग्छ । बिधिको शासन चलाउन सके समस्याको समाधान हुनेछ ।