
सयौं,हजारौं बिधार्थीलाई भेटाईदियो जिन्दगी
आफ्नै जिन्दगीको खोजीमा
कालोपाटीमा
उसकै मद्दतले खरीले आफ्नो बच्चा जन्माईरह्यो
हरेक अक्षरमा आफ्नो जिन्दगी तिलाञ्जली दिदै
र पनि
लेखिदिन्छ जिन्दगी लामो छ।
उसैगरी
एउटा शिक्षक पनि
सिकादिन्छ जिन्दगी ला ………मो छ भनेर
जस्को फोक्सोमा
खरीको धुलोले राजधानी खडा गरेको छ
था छैन उस्लाई कति बेला राजधानीमा सत्ता बद्लिन्छ।
खल्तीमा कलम बाहेक कैलै भएन उस्को
र पनि
उस्को खल्ती जती भारी कसैको भएनन्
बोकेको छ जिम्मेवारी
बिधार्थीको सुन्दर भबिष्यको
बिद्यालयको इज्जत र प्रतिष्ठाको
परिवारको खुसी र सुखको
देशको बिकास र प्रगतीको।
सिकाईरह्यो बिधार्थीलाई सहयोगी बन्न
बलीरहेको मैन बत्ती देखाएर
किन देखाएन उस्ले
आफ्नो जिन्दगीलाई उदाहरण बनाएर???
जोड घटाउ गुणन भाग सबै सबै सिकायो
आफूले चाही
घटाऊ र भागा मात्र प्रयोग गरिरह्यो जिन्दगीको हर मोडमा।
बोल्न नजान्नेलाई जीब्रो दियो
लेख्न नज्जान्नेलाई हात दियो
देख्न नजान्नेलाई आँखा दियो
बदलामा
रित्तो र रोगी जिन्दगी लियो….।
सल्लाह दिन्छ बिधार्थीलाई
डाक्टर बन्न
पाइलट बन्न
वकिल बन्न
इन्जिनियर बन्न
किन दिदैन उसले सल्लाह
आफू जस्तै रोगी र रित्तो जिन्दगी बोक्ने शिक्षक बन्न???
रमेश रसिक
निजगढ










