दिदी ! तिमी गएदेखि

जयन्ती मगर सरगम

दिदी !
देश बदल्न भनि तिमी गएदेखि
शून्य भएको छ रोधीघर,
हराउँदै गइरहेका छन्
मारुनी,शोरठी,पालम र सेलोका भाकाहरू ।
नाँच्न बिर्सिएको छ डाँडामा फिर्फिरे
चल्न छाडेका छन् जाँतो र ढिकीहरु
सालको पात बज्न छोडे पछि
एक्लै भएको छ लाँकुरीको रुख
खस्न मात्रै बाँकी छ
तिमीले घाँस काट्ने पहरा
देउरालीमा बढेको छ ढुङ्गाको बस्ती
र रोइरहेछ भीरमा गुराँस ।
दिदी !
देश बदल्न भनि तिमी गएदेखि
यताको हाल बेहाल छ ।
हो दिदी !
तिमीलाई लुछेका ती गिद्धहरु
आज रातो झण्डा समाएर
बलात्कारीलाई फाँसी माग गर्दै हिड्छन्
अधिकारको बिरुवा हुर्काउँदा तिमीले
पोथी बासी, अनर्थ हुन्छ भन्दै
तिम्रो अस्मिता लुटेर डाँडा कटाएकाहरुले
समानता र स्वतन्त्रताको
झण्डा समाएका छन् आज ।
चुक घोप्टिएको सिरान तलामा
जब देख्छु बुढो डायरी तिम्रो
तब एकएक पल्ट्याउन मन लाग्छ
नवीन सिद्धान्त बोकेका पानाहरु
र मन लाग्छ ती कविताका हरफहरुलाई
ठूला—ठूला अक्षरमा पोतेर
सजाउन होडिङ बोर्डमा
जहाँ सजाइएका छन्
रुस्लान भोड्काको नक्सा ।
जब अतीतले बारबार झापड हान्छ
तब चिथोर्न मन लाग्छ आफ्नै मुहार
किनकी ऐनाको नजिक जान्छु
तिमीलाई देख्छु
भकारो सोहोर्दै गरेकी आमा
आफ्नै धुनमा
खेलिरहेकी बहिनी हेर्छु
तिमीलाई उनीहरुको चेहरामा देख्छु ।
दिदी !
तिमीले खनेको गोरेटो
मेरो लागि मार्गदर्शन बन्नेछ
अहिलेसम्म मौन रहनु
आँधी आउनु पूर्वको शान्ति हो
रात ढल्नु बिहानीको सुरुवात हो
बीज माटोमा मिल्नु
नयाँ बिरुवाको जन्म हो
र अन्त्य हुनु
आरम्भको जग हो ।
ढुक्क हुनू दिदी
तिम्रो अन्त्यसंगै आरम्भ गर्दै छु म
यो देशलाई न्याय दिन ।
जैमिनी नगरपालिका-७