सिम्रिक कृषि सहकारीको अध्यक्षमा पौडेल चयन

बागलुङ, १७ भदौ
सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा लोकेन्द्र पौडेल निर्विरोध चयन हुनुभएको छ ।
सहकारीको तेस्रो वार्षिक साधारणसभाबाट पौडेलको अध्यक्षतामा ११ सदस्य नयाँ संचालक समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा धन बहादुर कार्की, सचिवमा चुडामणि उपाध्याय, सहसचिवमा खिम बहादुर कार्की, कोषाध्यक्षमा जगन्नाथ सापकोटालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा रमेश पौडेल, चुडामणि आचार्य, जिवननाथ शर्मा, राजु गौतम, रिता थापा र सस्वती कार्की चयन भएका छन् ।
यस्तै प्रेम बहादुर केसीको संयोजकत्वमा ३ सदस्य लेखा समिति गठन गरिएको छ । समितिको सदस्यमा बलराम गौतम र रेणु केसी रहेका छन् ।
यस्तै सहकारीको उद्घाटनसत्रमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले कृषि अनुदान वास्तविक कृषकहरुले पाउनुपर्ने बताउनुभएको छ । ‘कृषि क्षेत्रको विकासको लागि सरकारबाट आउने अनुदान पहुँचका आधारमा र सत्ताको वरिपरी घुम्ने टोलीले पाउने गरेकाछन्’ प्रमुख ढुंगानाले भन्नुभयो ‘त्यस्तो कार्यको अन्त्य गरी धेरै मेहेनत गरेका बास्तविक किसानहरुले उक्त अनुदान पाउनुपर्छ ।’ ढुंगानाले गाउँघरका किसानहरुले थोरै थोरै रकम जम्मा गरेर कृषिको काम गरीरहेको बताउँदै तिनीहरुको आर्थिक विकासको लागि सरकारले सोच्नुपर्ने बताउनुभयो ।
संस्थाले आर्थिक वर्ष २०७३/०७४ मा ६ करोड, ५१ लाख ८६ हजार ८ सय ८२ रुपैयाँको कारोबार गरेको संस्थाका कोषाध्यक्ष चुडामणि उपाध्यायले जानकारी दिए । संस्थाको प्रगति प्रतिवेदन सचिव लोकेन्द्र शर्मा र लेखा प्रतिवेदन लेखा समिति संयोजक जिवननाथ शर्माले प्रस्तुत गरेका थिए ।
संस्थाले यस वर्षको कृषि पत्रकारीता पुरस्कार जननिगरानी साप्ताहिकका सम्पादक, धौलागिरी एफ एम र राजधानी दैनिकका संवाददाता नविन शिशिर विकलाई प्रदान गरेको छ । विकलाई १ हजार १ सय ११ रुपैयाँ सहित पुरस्कृत गरीएको थियो । यस्तै संस्थाले सल्लाहकारहरुबाट हरिनारायण गौतम, चल्ती बचत तर्फ अर्जुन कार्की, आवाधिक वचत तर्फ डोलेन्द्र गौतम, मासिक तर्फ सुनिता किसान, असल ऋणी तर्फ सावित्रा कार्की र मनिषा किसान उत्कृष्ट किसान तर्फ तिलक कुँवर र शिला कुमारी सुवेदी, जेष्ठ शेयर सदस्य मदन प्रसाद पाण्डे, संस्थाका शुभेच्छुक मान बहादुर कार्की र उत्कृष्ठ कर्मचारी खिम बहादुर कार्कीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष मनिभद्र शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सदस्य चुडामणि आचार्य र संचालन सचिव लोकेन्द्र पौडेलले गरेका थिए । संस्थाले हाल बागलुङ बजार र काँठेखोलामा तरकारीका विउँ विक्री वितरण, अदुवा खेती, उखु खेती, केरा खेती र महुरी पालन गरिरको छ ।