
विक्रम सुनार
बागलुङ, ५ भदौ ।
बागलुङका एक कृषकले व्यवसायिक कृषि फर्मबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।
बागलुङ नगरपालिका ३ कृष्णलालचोक काठेखोलाको किनारमा व्यवसायिक कृषि फर्म संचालन गर्दै आउनुभएका ४९ वर्षिय नारायण शर्माले व्यवसायबाट नै आत्मनिर्भर बन्नुभएको छ ।
२०५९ सालबाट व्यवसायिक कृषि सुरुवात गर्नुभएका शर्माले माछा, कुखुरा, हाँस , बाख्रा लगायत केरा खेती समेत गर्नुभएको छ । फर्ममा अहिले ग्रास, कमन, रौँह नैया जातका ७ हजार माछा रहेका छ भने बोइलर ३ हजार र कोइलर २ कुखुरा रहेको छन । त्यसका साथ–साथै दर्जनबढि हाँस पाल्नुभएको छ । जिल्ला कृषि विकास कार्यालय बागलुङको माछा पालनको लागि ६० हजार र जिल्ला पशु सेवा कार्यालयको कुखुरा पालनको लागि ५० हजार अनुदान समेत पाउनुभएको थियो ।
जिल्ला कृषि कार्यालय बागलुङमा नारायण कृषि फर्म नामबाट दर्ता गराई खोलाको नजिक भएकाले पनि माछापालनमा सहज भएको उहाँको भनाई छ ।
कृषि फर्ममा करिव १२ लाख लगानी गरिसक्नुभएको शर्माले ४ रोपनी आफ्नै जग्गामा ६ वटा माछा पोखरी छन । माछाका भुराहरुले भने पोखराबाट लिदैँ आएको उहाको भनाई छ । कृषिमा राम्रो आम्दानी गर्न सकिने भएपछि वि.स. २०४७ सालमा शिक्षक पेशा समेत त्याग गुर्नभएको जानकारी दिनुभयो । अहिले ७ क्वीन्टल माछा विक्री भईसकेको बार्षिक ८ लाख कमाई भएको उहाँले बताउनुभयो ।
उत्पादीत माछा तथा कुखुराहरु स्थानीय स्तरमै खपत हुने गरेकोले बजारको समस्या नरहेको उहाँको भनाई छ ।
माछाको प्रतिकेजी ५ सय पर्ने र दैनिक ४ केजी विक्री हुने गरेको छ । विदेशमा गएर गर्ने दुःख परिश्रम स्वदेशमै गर्नेहो भने नेपालमै प्रशस्त आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।










